पूर्वाञ्चल खबर
सुन्दरहरैँचा /मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा बन्दना अधिकारी भारतको कोलकातामा आयोजना हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुने भएकी छन्।
कराँते खेलमा सक्रिय बन्दना अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन भारत प्रस्थान गर्न लागेकी हुन्। उनको सहभागिताले विद्यालय तथा सुन्दरहरैँचाको खेलकुद क्षेत्रमा समेत उत्साह थपिएको विद्यालयले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन जान लागेकी बन्दनालाई सिद्धार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्। प्रिन्सिपल बस्नेतले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय तथा देशको नाम उँचो राख्न सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु बन्दनाको खेलकुद यात्राका लागि महत्वपूर्ण अवसरका रूपमा लिइएको छ। विद्यालयले उनको सहभागितालाई प्रोत्साहन गर्दै आगामी दिनमा समेत खेलकुद प्रतिभाको विकास र प्रवर्द्धनमा सहयोग गर्ने जनाएको छ।