AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वका फुटबल हस्ती दीपेन्द्र धिमालको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ आश्विन २०८३, बिहीबार १२:३८
3
Shares
विराटनगर / अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं चर्चित पूर्व फुटबल खेलाडी दीपेन्द्र धिमाल (ड्राइभर)को निधन भएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–६ का ५९ वर्षीय धिमालको उपचारका क्रममा आज बिहान निधन भएको उर्लाबारी फुटबल क्लबका सचिव घनश्याम भण्डारीले जानकारी दिए । उनका अनुसार धिमाल लामो समयदेखि ‘प्यान्क्रियाज’ लगायत स्वास्थ्य समस्याबाट पीडित थिए । उनी केही समयअघि भारतको हैदरवादमा उपचार गराएर घर फर्किएका थिए । पारिवारिक स्रोतका अनुसार थप उपचार ९फ्लोअप०का लागि आइतबार पुनः भारत जाने तयारी थियो ।

 

तर, बुधबार साँझ स्वास्थ्यमा समस्या आएपछि स्थानीय अरनिको अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उनलाई रक्तमा चिनीको मात्रा घट्ने, ज्वरो आउने र वान्ता हुने समस्या थियो । उपचारकै क्रममा आज बिहान ५ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको परिवारले जनाएको छ । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरी विदेशमा रहेकाले उनी आएपछि मात्रै दाहसंस्कार गरिने जानकारी परिवारले दिएको छ ।

उर्लाबारी फुटबल क्लबका सचिव भण्डारीका अनुसार ‘ड्राइभर’ उपनामले चिनिने धिमालले मोफसलमा फुटबलको विकासमा विशेष योगदान पुर्याएका थिए । नाम दीपेन्द्र रहे पनि उनको खेल कौशलबाट उपनाम राखिएको थियो । गाडीलाई जसरी चालक ९ड्राइभर०ले चलाउँछ, त्यसरी नै फुटबललाई मैदानमा लैजान सक्ने कला भएकाले उनलाई सबैले ‘ड्राइभर’ उपनामले बलाउने गर्थे ।

धिमाल राष्ट्रिय टोलीबाट नखेले पनि उनी नेपालका चर्चित क्लब जनकपुर चुरोट कारखाना (जचुकाली), थ्रीस्टारजस्ता क्लबबाट खेलेका चर्चित पूर्वफुटबलर हुन् । उनले भारतको पश्चिम बंगाल लिग त्यहीँको क्लबहरुबाट खेलेका थिए ।

भण्डारीका अनुसार मोफसलको फुटबलको विकासमा विशेष योगदान गरेका धिमाल उर्लाबारी फुटबल क्लबको अध्यक्ष हुँदै मोरङ जिल्ला फुटबल संघको सदस्य, दुई कार्यालय महासचिव, ३ कार्यकाल अध्यक्ष हुँदै एन्फाको केन्द्रीय सदस्य भएका थिए । धिमालको निधनले फुटबल क्षेत्र तथा खेलप्रेमीहरूमा शोक छाएको उनको भनाइ छ । धिमालको निधनले फुटबल क्षेत्रमा अपूरणीय क्षति पुगेको भण्डारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर