AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशको स्वास्थ्य कार्ययोजना : चार नमुना अस्पतालदेखि ६ पहाडी जिल्लामा तत्काल विशेषज्ञ सेवा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०८३, बुधबार १९:१५
3
Shares
विराटनगर / कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा प्रवाहमा आमूल सुधार गर्ने लक्ष्यसहित प्रदेशका चारवटा अस्पताललाई ‘नमुना अस्पताल’ का रूपमा विकास गर्ने घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले पाँचथर, संखुवासभा, उदयपुर जिल्ला अस्पताल र मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा अस्पताललाई रणनीतिक क्षेत्रका रूपमा छनोट गरी नमुना अस्पताल बनाउने तयारी थालिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले प्रदेशको स्वास्थ्य संरचनालाई सुदृढ बनाउन ठूला अस्पतालहरूको स्तरोन्नतिको योजना सार्वजनिक गरे । जसअनुसार धनकुटा जिल्ला अस्पताललाई १०० शैयामा स्तरोन्नति गरी शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को रूपमा विकास गरिनेछ भने झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताललाई २०० शैयामा विस्तार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइनेछ । त्यस्तै, प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई न्यूनतम ५० शैयामा विकास गर्दै विशेषज्ञ सेवा विस्तार गरिने योजना मन्त्रालयको छ । दुर्गम तथा पहाडी क्षेत्रका ६ जिल्ला— ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला अस्पतालहरूमा तत्काल विशेषज्ञ सेवा विस्तार गरिने मन्त्री पराजुलीले प्रतिबद्धता जनाए ।

प्रदेशवासीलाई निःशुल्क रगत र जलन उपचार केन्द्र
प्रदेश सरकारले आम नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी कोशी प्रदेशका नागरिकहरूलाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । यसैगरी, पछिल्लो समय गम्भीर बन्दै गएको आगलागी तथा जलनका बिरामीहरूको सहज उपचारका लागि प्रदेशका सबै अस्पतालहरूमा जलन (बर्न) उपचार केन्द्र सञ्चालन गरिनेछ । विकट बस्तीहरूमा स्वास्थ्यको पहुँच पु¥याउन विशेषज्ञसहितको घुम्ती अस्पताल सेवा सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेको विद्यालय नर्सिङ कार्यक्रमलाई विस्तार गर्दै प्रदेशका सबै विद्यालयमा पु¥याइने योजना मन्त्रालयले अघि सारेको छ । प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति गर्दै जिल्लास्थित आयुर्वेद केन्द्रहरूलाई पनि व्यवस्थित अस्पतालको रूपमा विकास गरिने जनाइएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछिका प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री पराजुलीले प्रदेशका स्वास्थ्य निर्देशनालय, अस्पताल तथा कार्यालयहरूको स्थलगत अनुगमन गरी देखिएका समस्याहरू तत्काल समाधान गर्ने प्रयास थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर