विराटनगर /हरितालिका तीजको अवसरमा आज विराटनगरका विभिन्न शिवालयमा बिहानैदेखि व्रतालु महिलाको घुइँचो लागेको छ ।
शिव–पार्वतीको पूजा आराधना गर्न पुगेका महिलाहरूले मन्दिर परिसरमै नाचगान गर्दै तीजको उल्लास साटे।
बिहानैदेखि शिवालयमा पूजाका लागि पुगेका महिलाहरूको चहलपहल दिउँसोसम्मै देखिन्थ्यो। पूजा सकेपछि समूह बनाएर तीजका गीतमा नाच्दै रमाउनेको संख्या पनि उत्तिकै थियो।
धार्मिक परम्पराअनुसार महिलाहरूले सुख, शान्ति, पारिवारिक कल्याण तथा मनोकामना पूरा हुने विश्वासमा तीजको व्रत बसेका थिए। कतिपयले निराहार, कतिपयले पानी र फलफूल खाएर व्रत बसे।
तीजको अवसरमा विराटनगरका शिवालय तथा आसपासका क्षेत्रमा दिनभर चहलपहल रह्यो। पूजा, भेटघाट र नाचगानमार्फत महिलाहरूले पर्व मनाए।