पूर्वाञ्चल खबर
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले १ हजार १ सय २२ किलो गाँजासहित बोलेरो गाडी आज बरामद गरेको हो ।
गाँजा ओसारपसारमा संलग्न तीन जना पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार आज बिहान कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनमा गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा परिचालित प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी फेला पार्यो ।
जंगलका विभिन्न स्थानमा ५२ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा १ हजार १ सय २२ किलो गाँजा बरामद भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद गाँजा, बोलेरो र पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।