पूर्वाञ्चल खबर
शुभकामना सन्देश जारी गर्दै कार्कीले कोशी प्रदेश बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण रहेको बताएका छन् । आदिवासी जनजाति समुदायले सदियौँदेखि आफ्नो मौलिक भाषा, संस्कृति, कला र जीवनशैलीको संरक्षण गर्दै नेपालको सामाजिक पहिचानलाई समृद्ध बनाउन योगदान पुर्याएको उनले उल्लेख गरेका छन् ।
‘विविधता र मौलिकताले कोशी प्रदेशलाई विशिष्ट र समृद्ध बनाएको छ,’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘नेपालको संविधानले प्रत्याभूत गरेको समानता, सामाजिक न्याय, समावेशिता र सांस्कृतिक अधिकारको सुनिश्चितताका लागि प्रदेश सरकार सधैँ प्रतिबद्ध छ ।’
प्रदेश सरकार स्थापना कालदेखि नै सबै जातजाति, भाषा र धर्मको संरक्षणका लागि विभिन्न नीति तथा कार्यक्रममार्फत काम गर्दै आएको कार्कीले बताएका छन् । प्रदेशको विविधतालाई ‘शक्ति र सम्पत्ति’ का रूपमा स्वीकार गर्दै सबै समुदायको समान सहभागिता र अवसर सुनिश्चित गर्नु साझा दायित्व भएको उनको भनाइ छ ।
आदिवासी जनजातिको मौलिक ज्ञान, सीप र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै कार्कीले विश्व आदिवासी दिवसले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
आदिवासी जनजाति समुदायको भाषा र संस्कृतिको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकारले आगामी दिनमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।