AArya
RUMPUM
animated ellipse animated ellipse

एनवाईइएफ विराटनगर : अध्यक्ष सिग्देलको कार्यकाल उद्यमशीलता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा सक्रिय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०८३, बिहीबार २१:१२
72
Shares
विराटनगर / नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) विराटनगर च्याप्टरले पछिल्लो एक वर्षमा उद्यमशीलता प्रवद्र्धनसँगै नेतृत्व विकास, ज्ञान आदान–प्रदान, सामाजिक उत्तरदायित्व तथा नेटवर्क विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै विविध कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

बुधबार साँझ विराटनगरमा आयोजित वार्षिक साधारणसभामा सन् २०२५ का अध्यक्ष सञ्जीव सिग्देलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार च्याप्टरले वर्षभरि उद्यमशीलता प्रवद्र्धन र युवा उद्यमीहरूको क्षमता विकासका लागि उल्लेखनीय गतिविधि सञ्चालन गरेको छ।

अध्यक्ष सिग्देलले आफ्नो कार्यकालमा युवा उद्यमीहरूबीच अनुभव आदान–प्रदान, प्रेरणादायी अन्तरक्रिया, औद्योगिक भ्रमण, साइक्लिङ अभियान, सामाजिक सचेतनामूलक कार्यक्रम तथा उद्यमशीलतासम्बन्धी सम्मेलनहरू आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यी गतिविधिले युवा व्यवसायीहरूबीच सहकार्य, सिकाइ र आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

च्याप्टरले सञ्चालन गरेका प्रेरणादायी सिकाइ सत्रमार्फत अनुभवी उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष संवादको अवसर प्रदान गरिएको थियो। ती सत्रहरूमा व्यवसाय सञ्चालनका चुनौती, नवीन सोच, नेतृत्व विकास तथा बजारका अवसरबारे अनुभव र ज्ञान आदान–प्रदान गरिएको अध्यक्ष सिग्देलले बताए।

उद्योग तथा व्यवसायलाई नजिकबाट बुझाउने उद्देश्यले बञ्जारा एग्रो फार्मलगायत विभिन्न उद्योग तथा उत्पादनस्थलहरूको औद्योगिक भ्रमणसमेत आयोजना गरिएको थियो। भ्रमणका क्रममा सहभागीहरूले उत्पादन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा व्यवसाय सञ्चालनका व्यवहारिक पक्षबारे जानकारी प्राप्त गरेका थिए।

स्वस्थ जीवनशैली र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘कोरा साइक्लिङ’ अभियानमा पनि एनवाईइएफ विराटनगर च्याप्टरको सक्रिय सहभागिता रहेको थियो। वातावरण संरक्षण, स्वास्थ्य तथा सामुदायिक उत्तरदायित्वप्रति युवालाई सचेत गराउने उद्देश्यका साथ सदस्यहरू अभियानमा सहभागी भएका थिए।

यस अवधिमा उद्योगी–व्यवसायी, विभिन्न संस्थाका प्रतिनिधि तथा युवा उद्यमीहरूको सहभागितामा अन्तरक्रिया र छलफल कार्यक्रमहरू सञ्चालन गरिएका थिए। उद्योग, व्यापार, लगानी, नवप्रवर्तन तथा नेतृत्व विकासका विषयमा केन्द्रित कार्यक्रमहरूले नयाँ पुस्ताका उद्यमीलाई थप प्रेरणा प्रदान गरेको च्याप्टरको विश्वास छ।

युवा उद्यमी सम्मेलनजस्ता राष्ट्रियस्तरका कार्यक्रममा पनि विराटनगर च्याप्टरको सक्रिय उपस्थिति रहेको थियो। यस्ता कार्यक्रममार्फत स्थानीय उद्यमीलाई राष्ट्रिय सञ्जालसँग जोड्नुका साथै नयाँ सम्भावना र सहकार्यका अवसर सिर्जना भएको विश्वास गरिएको छ।

एनवाईइएफ विराटनगर च्याप्टरले उद्यमशीलतालाई केवल व्यवसायिक गतिविधिमा सीमित नराखी सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र सामुदायिक सहभागितालाई समेत समान प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। युवा उद्यमीलाई सक्षम, जिम्मेवार र नवप्रवर्तनमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएका गतिविधिले विराटनगर तथा कोशी प्रदेशको उद्यमशीलता वातावरणलाई थप ऊर्जाशील बनाउने अपेक्षा गरिएको अध्यक्ष सिग्देलले बताए।

यसैबीच, वार्षिक साधारणसभासँगै सन् २०२६ का लागि नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा रोमन कट्टेल चयन भएका छन् भने, निवर्तमान अध्यक्ष (आईपीपी) मा सञ्जीव सिग्देल, प्रथम उपाध्यक्षमा रितेश खनाल तथा द्वितीय उपाध्यक्षमा संयम श्रेष्ठ रहेका छन्।

कार्यसमिति सदस्यहरूमा सागरराज ढुङ्गाना, अर्नेष्ट श्रेष्ठ, उत्कृष्ट भट्टराई, अंगिका गिरी, अनुभव ढकाल, श्लोक रिजाल, धिरज शर्मा, हेमन्त अग्रवाल तथा विकिमा कर्मचार्य रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर