पूर्वाञ्चल खबर
देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा आज राति करिब ८ बजेबाट झडप सुरु भएको हो । दुई समुदायबीच डेढ घण्टा लामो समयदेखि लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन । अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ ।
दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, तरबारलगायतका घरेलु हतियारसहित आक्रमण र प्रत्याक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच अनियन्त्रित झडप भइरहेको जानकारी दिए ।
देवानगन्ज र हरिनगरामा मंगलबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरले हवाई गस्तीसमेत गरेको थियो । फिल्डमा समेत सेना परिचालन गरिएको छ । तर, अवस्था झन् तनावग्रस्त बनेर गएको छ । माहोल बिग्रिदै जाँदा दुई पक्षबीच लगातार झडप भइरहेको हो ।
दुई समुदायबीच मारमार चलिरहँदा सुरक्षा अधिकारीले भने सुरक्षाकर्मीलाई धेरै बल प्रयोग नगर्न निर्देशन दिएका छन् । आवश्यक बल प्रयोग गर्न नपाएपछि सुरक्षाकर्मी नै निरीह बनेका छन् ।
‘अहिले साँझबाट ठूलो संख्यामा भेला भएका दुई पक्षबीच घरेलु हतियारसहित दोहोरो झडप भइरहेको जानकारी आएको छ । झडप र हुलदंगाले अवस्था पूर्णरूपमा तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने । साँझको समय भएकाले अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई समस्या परिरहेको जानकारी खड्काले दिए ।
‘आज दिउँसो देवानगन्ज–३ कप्तानगन्जका केही घरमा आगजनीसमेत भएको थियो ।
आगजनी र नियन्त्रणबाहिरको झडपका कारण स्थानीय सर्वसाधारणबीच भागदौड मच्चिएको छ । कतिपय वृद्धवृद्धा र बालबालिका हुलदंगमा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनामा ठूलो हताहती भएको हुनसक्ने र अझै नियन्त्रणमा आउन नसके अवस्था निक्कै जटिल एवं असहज बनेर जाने सुरक्षा विश्लेषण छ । लामो समयदेखिको मारपिट, हुलदंगा र झडपका कारण ठूलो हताहती भएको हुनसक्ने सुरक्षा अधिकारीहरुको आशंका छ ।