विराटनगर, ८ वैशाख / मोरङको झोराहाटमा आजदेखि ‘गाउँमा साहित्य कला उत्सव’ सुरु भएको छ ।
स्थानीय तहको निर्वाचनले सहर र गाउँ तातिरहेका बेला विराटनगरबाट करिब ९ किलोमिटरको दूरीमा रहेको झोराहाटमा भने छुट्टै रौनक सुरु भएको छ । जहाँ रोल्पादेखि इलामसम्मका स्रष्टाहरू जम्मा भएका छन् ।
उत्सवको वरिष्ठ साहित्यकार प्रा.डा. टंक न्यौपानेले उद्घाटन गरे । समूहले हरेक महिनाको दोस्रो शुक्रबार ‘गाउँमा कविता’ शृंखला सञ्चालन गर्ने गरेको छ । गत वर्षदेखि सञ्चालनमा आएको नाट्य समूहले हालसम्म शृंखलाअन्तर्गत ४८ जनाका कविता वाचन गराइसकेको छ । उत्सवको पहिलो दिन कलाकार, साहित्यकार र समाजसेवीलाई सम्मान गरिएको थियो ।
झोराहाटमा रहेर लामो समयदेखि कला क्षेत्रमा सक्रिय धनपति लुइँटेल, लोकनाथ न्यौपाने, मित्रप्रसाद भट्टराई, देवीप्रसाद ढुंगाना र यादवप्रसाद लुइँटेललाई सम्मान गरिएको समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए ।
त्यस्तै साहित्यकार अनिल पौडेल र भावना पौडेललाई पनि सो अवसरमा सम्मान गरियो । साहित्यकार पौडेल दम्पत्तिलाई भावना प्रतिभा पुरस्कारका लागि १ लाख ११ हजार १ रुपैयाँको अक्षयकोष स्थापना गरेबापत सम्मान गरिएको हो ।
नाट्य समूहले हरेक वर्ष शैक्षिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने गरी १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेबापत समाजसेवी विवेक कर्णलाई माला लगाएर सम्मानपत्र समर्पण गरियो । उनीहरूलाई न्यौपाने, कवि श्यामललगायतले सम्मान गरेका थिए ।
त्यस्तै कार्यक्रममा मदन पुरस्कार विजेता कृष्ण धरावासीले लीलाबोध परिचर्चा गरे । पहिलो दिनको कार्यक्रमअन्तर्गत कवि मनु मञ्जिल, याम थुलुङ, सीमा आभास, मीनकुमार नवोदित, रमेशचन्द्र अधिकारी, केजी सुब्बा, कैलाश शिखर, दीपा दाहाल, अभागी थेगुवा, राज माङलाख, राजकुमार अनिश्चित, सम्पदा रिजालसहितका १२ कविले १२ वटा कविता प्रस्तुत गरे । “वर्षमा १२ महिना भएकाले झोराहाट नाट्य समूहले पहिलो वार्षिकोत्सव मनाइरहँदा प्रतीकात्मक रुपमा १२ कविका १२ वटा कविता वाचन राखिएको हो,” कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले प्रस्ट पारे ।
पहिलो दिन प्रतिनिधि कविता र गजल वाचन तथा गायनसमेत राखिएको थियो । जहाँ ५० जनाभन्दा बढीले कविता र गजल प्रस्तुत गरे ।
कार्यक्रमको दोस्रो दिन सडक कविता, कवितामाथि बहस, कवितामा युवाशक्ति, छन्दमा कविता–कवितामा छन्दलगायतका कार्यक्रम हुनेछ ।
पूर्वका साथै काठमाडौं, रोल्पा, नुवाकोट, धादिङ, हेटौडा, पोखरा, दाङलगायतका साहित्यकारहरूको सहभागिता रहेको छ । कार्यक्रमा कविता गजल वाचन, गायन, अन्तरक्रिया, सम्मानलगायतका एक दर्जनभन्दा बढी कार्यक्रम हुनेछ ।