AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी अस्पतालको जग्गामा बनेका २६ सटर सोमबार भत्काइने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ असार २०८३, शुक्रबार २१:२६
3
Shares
विराटनगर / विराटनगरस्थित कोसी अस्पतालको स्वामित्वमा रहेको जग्गामा बनेका विभिन्न चार संस्थाका २६ वटा व्यावसायिक सटरहरू सोमबार भत्काइने भएको छ ।

अतिक्रमण हटाउन अस्पतालले दिएको ७ दिने अल्टिमेटम आइतबार सकिएलगत्तै डोजर चलाउने तयारी गरिएको हो ।

समयसीमा सकिनु एक दिनअघि आज पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले अवैध रूपमा बनेका संरचना भत्काइने जानकारी दिएको हो । अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइटेलका अनुसार भत्काउनुपर्ने ती सटरहरूमा अस्पतालले ‘रातो स्टिकर’ समेत टाँस गरिसकेको छ ।

अस्पताल प्रशासनले अहिले नै ती चार संस्थाका मुख्य भवन भने नभत्काइने स्पष्ट पारेको छ । अस्पतालका मेसु डा. चन्द्रभाल झाले जनमानसमा संस्थाका मुख्य भवन नै भत्काउन लागिएको भन्ने भ्रम रहेको भन्दै त्यसको खण्डन गरे । “अहिले गणेश मन्दिर, क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका मुख्य भवन भत्किने छैनन्,” मेसु झाले भने, “तर ती संस्थाले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका २६ वटा सटरहरूमा भने सोमबार डोजर चल्नेछ ।”

अस्पतालका अनुसार गणेश मन्दिर परिसरका ५ वटा सटर भत्काइनेछन् । जसमा उज्ज्वल फर्मा, कलश फर्मा, उत्सव किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिक रहेका छन् । यी पसलहरूले मन्दिरलाई मासिक ६० हजार रुपैयाँसम्म भाडा बुझाउँदै आएका थिए ।

त्यस्तै, क्षयरोग निवारण संस्थाका ९ वटा सटर भत्काइनेछ । जसमा श्रेष्ठ खाजाघर, मदिना होटल, पुन्टु कलेक्सन, पूर्वाञ्चल बायोमेडिकल, दीपेश शाकाहारी खाजाघर, रहिम मोटरसाइकल मर्मत पसल, मोनिका फार्मेसी र निरुपमा होटल रहेका छन् । नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालित सुनिल भेराइटीज, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंक, कोसी मार्भलस र मिना मेडिकलका सटरहरू पनि भत्काइने सूचीमा छन् । यस्तै, देवकोटा पुस्तकालयअन्तर्गतका ६ वटा व्यावसायिक सटरहरू भत्काइने अस्पतालले जनाएको छ ।

अस्पतालले सुरुमा १५ दिने सूचना जारी गरे पनि संरचना खाली हुन सकेको थिएन । त्यसपछि गृहमन्त्री सुदन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत निरीक्षण गरी ७ दिनभित्र अतिक्रमण गरिएका संरचना हटाउन निर्देशन दिएका थिए । मन्त्रीहरूको निर्देशन र स्थानीय प्रशासनको सक्रियतापछि यो प्रक्रियाले गति लिएको हो ।
विराटनगर–७ स्थित कित्ता नम्बर ११, १२, १५, २२, २३ र २६ को बहुमूल्य जग्गामा यी चार संस्थाले लामो समयदेखि सामाजिक सेवाको आवरणमा व्यावसायिक गतिविधि गर्दै आएका छन् । अस्पतालको आन्तरिक अध्ययनअनुसार क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा ओगटेर मासिक करिब दुई लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । त्यस्तै, रेडक्रसले २ कट्ठा जग्गामा बनेको भवन बैंकलाई भाडामा दिएर मासिक १ लाख ५० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । गणेश मन्दिर र देवकोटा पुस्तकालयले पनि सडक मोहडाका सटरहरूबाट मासिक लाखौँ रुपैयाँ असुलिरहेका छन् । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयन र जग्गाको सही सदुपयोगका लागि यो कदम चालिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर