पूर्वाञ्चल खबर
नेकां कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित नेकांको केशी प्रदेशीतरीय वृहत एकता भेलाको उद्घाटन गर्दै डा.कोइरालले कांग्रेस एकढिक्का भएन भने लोकतन्त्र कमजोर हुन्छ, र लोकतन्त्र कमजोर भयो भने देशको अखण्डता र सार्वभौमिकता कमजोर हुुने बताए।
नेता डा. कोइरालाले वर्तमान मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै जटिल मोडबाट गुज्रिरहेको चर्चा गर्दै यस्तो अवस्थामा पार्टीभित्र सबै एकजुट हुनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस भित्रको आन्तरिक एकताको महत्वमाथि जोड दिँदै उनले भने, ‘ कांग्रेस एकढिक्का भएन भने कुनै पनि हालतले अगाडि बढ्न सक्दैन ।’
डा. कोइरालाले पछिल्लो समय राजनीतिमा पपुलिजम (लोकप्रियतावाद) हावी भएको र कांग्रेसका नेताहरू पनि त्यसकै पछि लागेको टिप्पणी गरे । सामाजिक सञ्जालमा आफूलाई बूढो भयो, परालको खुट्टा, र ढुलमुले भनेर गरिने आलोचनाको उनले कडा जवाफ दिए । उनले भने, सामाजिक सञ्जालमा जेसुकै लेखुन्, मलाई चिन्ता छैन । हाम्रो परालको खुट्टा छैन र ढुलमुले चरित्र पनि छैन । हामी कांग्रेसलाई एक ढिक्का बनाएर लैजान दृढ छौं ।
राष्ट्रिय एकता र मेलमिलापको सान्दर्भिकता
बीपी कोइराला र गणेशमान सिंहको २०३३ सालको राष्ट्रिय एकता र मेलमिलापको नीतिको स्मरण गर्दै उनले अहिले पनि कांग्रेसले सबै शक्तिहरूलाई समेटेर अगाडि बढ्नुपर्ने बताए । जब-जब देश संकटमा पर्छ, जनताले कांग्रेसलाई सम्झिन्छन् । तर कांग्रेस आफैं कमजोर भयो भने देशको अखण्डता र सार्वभौमिकता जोगिन सक्दैन, कोइरालाले थपे ।
चुनावको तयारी र एकताको सन्देश
सरकारले स्थानीय र प्रदेशको निर्वाचन छिटै (अर्ली इलेक्सन) गर्ने संकेत देखिएको भन्दै उनले त्यसका लागि पार्टी एक हुनुपर्नेमा जोड दिए । पार्टीभित्र कार्यकर्ताहरूलाई त्रासमा राखिएको र भेलामा नआउन धम्की दिइएको प्रति पनि उनले आपत्ति जनाए । त्रासका बावजुद यहाँ आउनुभएका सांसद र कार्यकर्ताहरूलाई धन्यवाद छ । कांग्रेस फुट्दैन र हामी कसैको धम्कीबाट डराउँदैनौं, उनले स्पष्ट पारे । विराटनगरको यो भेलाले कांग्रेसभित्र नयाँ बहस र नेतृत्वलाई दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ ।