पूर्वाञ्चल खबर
काठमाडौँमा सम्पन्न प्रतियोगितामा कोशीले ४ स्वर्ण, ७ रजत र १७ कांस्यसहित कुल २८ पदक जित्दै पदक तालिकामा पाँचौँ स्थान हासिल गरेको हो ।
गत वर्ष सम्पन्न १५ औँ संस्करणमा कोशी प्रदेश एकै खेलमा पनि स्वर्ण जित्न नसकी ुस्वर्णविहीनु बनेको थियो । त्यतिबेला ७ रजत र ८ कांस्यमा खुम्चिएको कोशी पदक तालिकाको सातौँ स्थानमा थियो । तर, यसपटक कोशीले कराते र तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो साख जोगाएको छ ।
करातेमा कोशीको दबदबा
कोशी प्रदेशका लागि यसपटक कराते विधा मुख्य उपलब्धि बन्यो । करातेतर्फ ३ स्वर्ण, ३ रजत र ३ कांस्य गरी ९ पदक जित्दै कोशी सातै प्रदेशमध्ये पहिलो बन्न सफल भयो । करातेको महिला विधामा कोशीका चेलीहरूले क्लिन–स्वीप नै गरे । ४५ केजी तौल समूहमा हिरा आले मगर, ५० केजीमा प्रनिशा नेपाल र ५५ केजीमा सशिका आले मगरले स्वर्ण पदक जिते । त्यस्तै, तेक्वान्दोबाट थप १ स्वर्ण पदक प्राप्त भयो ।
पुरुषतर्फ करातेको ५७ केजी र काता विधामा प्रमोद राईले २ रजत दिलाए भने निरोज थापा, मानस थापा र पुष्पराज योकपाङ्देनले कांस्य पदक हात पारे ।
नेतृत्व परिवर्तन र जिल्लाको समेटवट
गत वर्षको तुलनामा यसपटक नतिजा सुधारिनुमा प्रदेश खेलकुद विकास बोर्डको नयाँ व्यवस्थापन र सक्रियतालाई मुख्य कारण मानिएको छ । अघिल्लो वर्ष तत्कालीन सदस्य सचिव पर्शुराम बस्नेतको कार्यकालमा प्रदेशका तीन जिल्लाबाट खेलाडी छनौट नै हुन सकेको थिएन । तर, यसपटक नयाँ सदस्य सचिव विप्लव घोषसहितको टोलीले प्रतियोगिता हुनुभन्दा अगावै प्रदेशका १४ वटै जिल्ला समेटेर छनौट प्रक्रिया सम्पन्न गरेको थियो । १ हजार ७ सय खेलाडीबाट छानिएका ११५ उत्कृष्ट खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर काठमाडौँ पठाइएको थियो ।
सदस्य सचिव घोषले खेलाडीहरूको मिहिनेत र बोर्डको चुस्त व्यवस्थापनका कारण स्वर्णविहीनको कलंक मेटिएको बताए । ‘अघिल्लो वर्षको तुलनामा हामीले धेरै सुधार गरेका छौँ, यो सफलताले कोशी प्रदेशको खेलकुदमा नयाँ उत्साह थपेको छ,’ उनले भने ।
बागमती पुनः च्याम्पियन, अर्को संस्करण कोशीमा
प्रतियोगितामा बागमती प्रदेशले २२ स्वर्णसहित उपाधि रक्षा गरेको छ भने सुदूरपश्चिम दोस्रो र लुम्बिनी तेस्रो भएका छन् । ५ स्वर्ण जितेको गण्डकी चौथो हुँदा ४ स्वर्ण जितेको कोशी पाँचौँ स्थानमा रह्यो । मधेस छैटौँ र कर्णाली सातौँ स्थानमा खुम्चिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको यो प्रतियोगितामा सात प्रदेशका ६८६ खेलाडीले ६ वटा खेलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १७ औँ संस्करण आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमै आयोजना हुने तय भएको छ । आगामी संस्करणमा घरेलु मैदानको फाइदा उठाउँदै कोशीले अझै राम्रो नतिजा निकाल्ने लक्ष्य राखेको छ ।