पूर्वाञ्चल खबर
मंगलबार राति अबेरसम्म विराटनगरस्थित बिग होटलमा बसेको कांग्रेस प्रदेश कार्यसमितिको बैठकले उपाध्यक्षसहित सदस्यहरूको नाम चयन गरेको हो ।
सत्ता गठबन्धनबीच भएको भागबन्डामा कांग्रेसको भागमा उपाध्यक्षसहित पाँच सदस्य परेका छन् । जसअनुसार रिक्त रहेको पुरुष उपाध्यक्ष पदका लागि विराटनगरका बसन्त अर्यालको नाम सर्वसम्मत निर्णय गरिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सिफारिस समितिले उपाध्यक्षका लागि ९ जना आकांक्षीको नाम प्रस्ताव गरेको थियो, जसमा अर्याल छानिएका हुन् ।
यसैगरी, बोर्ड सदस्यहरूमा झापाको मेचीनगरका बालजित राई, ओखलढुंगाका विश्व राई र इलामका टिकाराम पुरीको नाम टुंगो लागेको छ । बाँकी दुई सदस्यको नाम भने सार्वजनिक गरिएको छैन ।
यता, सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेले यसअघि नै सुनसरीको इनरुवा निवासी विप्लव घोषलाई सदस्य सचिव बनाउने निर्णय गरिसकेको छ । एमालेको भागमा सदस्य सचिवसहित महिला उपाध्यक्ष र ९ सदस्य परेका छन् । एमालेबाट महिला उपाध्यक्षका लागि थलुराज भण्डारी र सन्तोषी श्रेष्ठको नाम चर्चामा रहे पनि तत्काल नियुक्ति भने नगर्ने तयारी छ । एमालेले सदस्यहरूमा अनुरुद्ध चौधरी, प्रवीण कार्की र विना बस्नेतको नाम तय गरिसकेको छ ।
राजनीतिक भागबन्डा मिलेसँगै सामाजिक विकास मन्त्रालयले बोर्डलाई पूर्णता दिने तयारी थालेको छ । मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सदस्य सचिव, पुरुष उपाध्यक्ष र केही सदस्यहरू नियुक्त गरिनेछ भने बाँकी सदस्यहरू अर्को चरणमा नियुक्त गर्ने दलहरूबीच ‘भद्र सहमति’ भएको छ ।
सामाजिक विकास मन्त्री रामप्रकाश महतोले खेलकुद विकास बोर्डलाई यथासक्दो चाँडो पूर्णता दिइने बताए । ‘आज हाम्रा केही महत्वपूर्ण कार्यसूचीहरू छन्,’ उनले भने, ‘सम्भवतः आज नै बोर्डका सम्बन्धमा केही ठोस निर्णयहरू हुनेछन् ।’
प्रदेश सरकारले दुई साताअघि मात्रै ‘प्रदेश खेलकुद (पहिलो संशोधन) अध्यादेश–२०८१’ जारी गर्दै बोर्डको संरचनालाई ‘जम्बो’ बनाउने बाटो खोलेको थियो । उक्त अध्यादेश प्रदेशसभामा समेत टेबल भइसकेको छ । अध्यादेशमार्फत उपाध्यक्षको संख्या थपिनुका साथै सदस्यहरूको संख्या झन्डै चार गुणाले वृद्धि गरिएको छ । यसअघि बोर्डमा एक जना महिला उपाध्यक्ष र एक जना सदस्य सचिव रहने व्यवस्था रहेकामा नयाँ व्यवस्थाअनुसार पुरुषका लागि पनि अर्को उपाध्यक्ष पद सिर्जना गरिएको छ ।