खुल्ला दिसामुक्त अभियानमा सक्रिय महिलासमूहका पुनम र सरिता सरदार
चीना थापा
विराटनगर, ६ बैशाख / मोरङको थलाहा गाविस (हाल कटहरी गाउँपालिकां) लाई खुल्ला दिसामुक्त घोषणा गर्ने अवस्थासम्म ल्याउन सुरुमा निक्कै समस्या परेको थियो । अधिकांश दलित समुदायको बसोबास रहेकोले यस्तो समस्या देखिएको हो ।
चर्पी प्रयोगको महत्व नबुझ्दा चर्पीमा दिसा गर्दा दिसा नै आउँदैन भन्दै उनीहरूले सहजकर्तालाई नै अप्ठ्यारोमा पारेर फर्काइदिन्थे । किनकि उनीहरूले मनदेखि नै चपी बनाउन चाहेका थिएनन्् । तसर्थ स्वास्थ्यका लागि पानी (नेवा) र प्लान नेपालको साझेदारीमा वि.सं.२०६६ देखि नै खुल्ला दिसामुक्त अभियान सुरु भए पनि त्यसले चाहेजस्तो गति लिन सकेको थिएन ।
खुल्ला दिसामुक्त अभियानमा सक्रिय युवा विनोदकुमार सरदार
जब त्यहाँका युवक र महिलाहरू सङ्गठित भएर अभियानमा लागे तब मात्र अभियानप्रति सबैको आशा पलायो र सफलता प्राप्त भयो । खुल्ला दिसामुक्त गाविस घोषणा गर्ने अभियानलाई सघाउन हिडेकी थलाहाकी पुनम सरदार झम्झिछिन्, सुरुसुरुमा त मलाई घर परिवारले समेत साथ दिएनन् । ‘केही काम नपाएर गुहुको पछि लाग्न थाली’ भन्ने बचन सुन्नु पथ्र्यो ।
गाउँलेको बचन त सम्झेर साध्यै छैन । गाविसका प्रायः पुरुषहरू रोजगारीमा जाने र घरमा महिला मात्र हुने भएकाले महिलालाई सम्झाउन महिला नै चाहिन्छ भन्ने ठानेर सात जना महिलाको समूह बनाई अभियान सञ्चालन गर्यौं । त्यो समूहले विहान ७ बजेदेखि बेलुका ६—७ बजेसम्म पालैपालो काम गर्दथ्यो ।
चर्पीमा दिसा गर्दा हुने फाइदा, खुल्ला ठाउँमा दिसा गर्दा हुने बेफाइदा, खुल्ला दिसाका कारण लाग्ने रोगहरू, खुल्ला दिसामुक्त गाविस घोषणा हुँदाका फाइदा लगायतको विषयमा जानकारी गराउन थाले । पुनम सरदारले भनीन्— ‘सम्झाउने क्रममा कतिपयसँग त झगडा पनि पर्यो ।’ उनको भनाइ छ, कतिपयले त डलर पचाउन आएको भनेर पनि गाली गरे । तर, गाउँका मानिसले नबुझी चलाएको यस्ता हल्लाबाट उनीहरू विचलित भएन, दृढ भएर काममा जुटिरहे ।
खुल्ला दिसामुक्त अभियानकी अर्की अभियनता सुनिता सरदार हुनुहुन्छ । उहाँलाई पनि परिवारले सुरुमा त अभियानमा हिड्न दिएन । ‘घरको काम छाडेर अर्काको गुहु हेर्न जाने’ भनेर नै गाली गरे । तर, उहाँ परिवारलाई सम्झाउँदै अगाडि बढ्नु भयो । अभियानमा हर बखत लागि रहनु भयो ।
एकपटक उनीहरु स्थानीय सत्यनारायण सरदारको घरमा पुगेका थिए । घरमा चर्पी थिएन । उनीले चर्पीमा दिसा गर्दाका फाइदा र चर्पीमा दिसा नगर्दाको बेफाइदाबारे जानकारी दिए । तर, सत्यनारायणले उनीको कुरा सुन्नुको साटो नाना थरी गाली पो गर्न थाले । ‘अब डलरको भरमा अर्काले दिसा गरेको हेर्दै हिड्न थाल्यौ ?’ भन्न पनि भ्याए । सुनिताले फेरि पनि सम्झाउने कोसिस गरीन् । आखिर केही लागेन, छाडि दिइन् । त्यसको केही दिनपछि सत्यनारायण सरदारलाई झाडापखालाले समात्यो ।
सुनिताले नै अस्पताल पुर्याइन् । बिरामी सत्यनारायणलाई सुनिताले फेरी खुल्ला दिसाका कारण झाडा पखाला लागेको कुरा सम्झाइा् । त्यसपछि भने उनी चर्पी बनाउन माने ।
अहिले त सत्यनारायण खुल्ला दिसामुक्त अभियानका जोडदार समर्थक रहेका छन् । उनी भन्छन्, ‘तपाईंहरूले मलाई नयाँ जीवन दिनु भयो, स्वस्थ हुन सिकाउनु भयो । खुल्ला दिसामुक्त अभियानमा लागेका सबैलाई धन्यवाद छ ।’ अहिले सत्यनारायण जस्ता धेरैको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
‘उनीहरू जस्तै गलत सोचाइ भएकाहरूका अगाडि हामीले विशुद्ध स्वयम्सेवक भई खटेर अभियान सफल पारेका छौं । यो नै हामी महिलाहरूको लागि खुसीको कुरा हो ।’ सुनिताले अभियानप्रति गर्व गर्दै भनीन् ।
पुरुषले जानेको कुरा पुरुषमै सीमित हुने तर महिलाले सिक्दा घर परिवारको लागि हुने भएकाले विशेष गरी अभियानमा महिलालाई समेटेर हिडेका थियौ ।
पहिला चर्पीमा दिसा गर्दा दिसा नै आउँदैन भन्नेहरू अहिले खुल्ला ठाउँमा दिसा आउँदैन भन्न थालेका छन्, सुनिताले गाउँलेको बानी बेहोरामा आएको परिवर्तनबारे सुनाइन् ।
२०६६ सालदेखि नै खुल्ला दिसामुक्त अभियानमा सक्रियतापूर्वक लागेका युवक विनोदकुमार सरदारले पनि अभियानका क्रममा धेरै गाली समेत खाए । तर गाउँले नबुझेर गरेको त्यस गालीको पर्वाह नगरी अभियानमा सक्रिय भए । फलस्वरूप थलाहा गाविस नै खुल्ला दिसामुक्त घोषित हुन सकेको छ ।
पहिला अपमान गर्नेहरु नै अहिले उनीहरुका प्रशंसक बनेका छन् । कारण हो, त्यस अभियानबाट अरुका लागि होइन आफैं स्वस्थ रहन खुल्ला ठाउँमा दिसा गर्न नहुने रहेछ भनेर सबैले बुझे । सबैले चर्पी बनाए, अनि आफूले बनाएको चर्पीमा दिसा गर्न थाले । गाविस खुल्ला दिसामुक्त घोषणा भयो ।
माथिको कुराबाट समूहमा काम गर्याे भने सफलता मिल्ने रहेछ भन्ने बुझ्न सकिन्छ । थलाहामा महिला र युवक समूहको सक्रियताले अभियानलाई सफल बनाएको हो ।
एक्ला एक्लै गएको भए सदियौं देखि खुल्ला ठाउँमा दिसा गर्दै आएका गाउँलेहरूलाई सम्झाउन सकिदैनथ्यो । समूहगत रुपमा काम गरेको हुनाले सफलता मिलेको हो । यस कुरामा नेवाका युवराज फुयाल पनि सहमत भए । उनी भन्छन्, ‘युवाहरु र महिलाको समूहगत सक्रियता नभएको भए खुल्ला दिसामुक्त अभियान सफल हुन गाह्रो थियो । उनीहरूको लगाव र मेहनत प्रशंसनीय छ ।’
थलाहा गाविसलाई खुल्ला दिसामुक्त बनाउने अवधारणा २०६७ सालदेखि सुरुभएको थियो । यस अवधारणलाई २०७२ पुसमा भएको गाउँ परिषद्ले निर्णय गरी औपचारिक रूपमा काम शुरु गर्यो । त्यसपछि अभियानले झनै तिव्रता पायो । तत्कालीन गाविस सचिव (हाल कटहरी गाउँपालिका वडा नं. ७ का सचिव) भोजराज भुजेलका अनुसार त्यही अभियानबाट २०७३ जेठ २५ गते थलाहा खुल्ला दिसामुक्त गाविस घोषित हुन सफल भएको हो ।
यस सफलताको जस सबैभन्दा धेरै युवा र महिला समूहलाई जाने सचिव भुजेलको भनाइ छ । ‘घामपानी, साँझ विहान नभनी युवा र महिलाहरु अभियानमा सक्रिय भए’, उनीले भन्छन्, ‘त्यसकै परिणाम स्वरुप गाविस खुल्ला दिसामुक्त घोषित हुन सफल भएको हो ।’ अधिकांश दलित समुदायका मानिसहरूको बसोवास रहेकाले पनि गाविसलाई खुल्ला दिसामुक्त बनाउन निक्कै चुनौती रहेको उनकोे ठम्याइ थियो । तर अहिले त्यस्ता चुनौती सामना गर्दै खुल्ला दिसामुक्त घोषणा भएको देख्दा युवा र महिलालाई सहभागी गराउन सके जुन सुकै अभियान पनि सम्भव हुने ठम्याइ सचिव भुजेलको रहेको छ । खुल्ला दिसामुक्त घोषणा नभएका क्षेत्रमा अभियान सफल बनाउन युवा र महिलालाई परिचालन गर्नु पर्ने उनको सुझाव छ ।
‘खुल्ला दिसामुक्त अभियानका लागि मात्र होइन अन्य जुन सुकै अभियान सफल पार्न समूहगत काम गर्नु पर्दछ भन्ने ज्ञान थलाहाबाट पाउन सकिन्छ । यो विधि गाउँको विकासको लागि सञ्चालन गरिने जुन सुकै अभियानका लागि उपयुक्त हुनेछ ।’ नेवाका सुपरभाइजर फुयँल भने ।
मोरङ जिल्लामा साविक ५० वटा गाविसहरूमध्ये २३ वटा खुल्ला दिसामुक्त घोषणा भएका छन् ।