पूर्वाञ्चल खबर
विराटनगर २५ कार्तिक / विराटनगरको नेशनल किड्नी अस्पतालले मुत्रथैलीमा फैलिएको ट्युमरको शल्यक्रिया गरी मानव शरिरमा कृतिम मुत्रथैली बनाएर एक जना बिरामीको ज्यान बचाउन सफल भएको छ । अत्यन्त जटिल मानिएको त्यस प्रकारको शल्यक्रिया अस्पतालका डाक्टर सन्तोष झासहित तीन जना चिकित्सक टोलीले सफलतापूर्वक गरेको हो ।
सप्तरी जिल्लाको हनुमाननगर स्थित योगिमाई नगरपालिका ४ का ४४ वर्षका सुरेन्द्र मिश्र पिसाव थैलीमा फैलिएको ट्युम्वरबाट पीडित थिए । त्यस अघि दुई पटक ट्युम्वरको शल्यक्रिया गरेको एपनि फैलिने क्रम नरोकिएपछि अस्पतालले उनको मुत्रथैली नै नयाँ बनाएको हो ।
पेटमा भएको आन्द्राभुँडी लगायतको भागलाई आपसमा जोडेर नयाँ मुत्रथैली बनाएको र विरामी पुर्णरुपमा स्वस्थ रहेको अस्पतालले दावी गरेको छ । उपचारबाट निको भएका विरामी मिश्रले शल्यक्रिया गरेको एक महिनाको अवधिमा आफुलाई निकै सहज भएको बताए ।उनले आफुले नयाँ जिवन पाएको भन्दै पत्रकार सम्मेलनमै हर्षको आँशु झार्नुभएको थियो ।
मन्दिरमा पुजापाठ गरेर जीविकोपार्जन गरिरहेका मिश्रले उपचारकालागि आफुसंग भएको पाँच कठ्ठामध्ये तीन कठ्ठा जमिन बेच्नु परेको भन्दै भक्कानिएका थिए । अस्पतालले भारी छुटमा उहाँको उपचार गरेको र उपचारमा धेरै रकम खर्च भएपछि अस्पतालले उहाँको जेठो छोरालाई त्यहि जागिर पनि दिएको छ ।
अत्यन्त जटिल शल्यक्रिया गर्न करिव ५ घण्टा लागेको भन्दै डाक्टर सन्तोष झाले ट्युम्वर फैलिने क्रम नरोकिएको भए करिव ५ वर्षमा बिरामीको मृत्यु निश्चित रहेको बताए । मिश्रको पिसाव थैलीबाट साढे ३ किलोग्राम ट्युम्वर निकालिएको थियो ।