पूर्वाञ्चल खबर
देशको धूलो, धुवाँ, पसिना र पीडाबाट उठेको एउटा समुदाय आज सिङ्गो राष्ट्रको आशा बनेर उभिएको छ। सधैँ पछाडि पारिएको मधेशी समुदाय, उपेक्षित वर्ग र दबिएको आवाजको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीको कुर्सीसम्मको तपाईंको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, ऐतिहासिक क्षण हो। यस अवसरमा तपाईंलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
तपाईंको यो उचाइ केवल पद होइन, ठूलो जिम्मेवारी हो। जनताले तपाईंलाई पाँच वर्षका लागि आशा, भरोसा र परिवर्तनको अपेक्षासहित रोजेका छन्। इतिहास साक्षी छ, हाम्रो देशमा एउटै समुदायबाट आएका धेरै प्रधानमन्त्री एकलौटी निर्णय र गलत सल्लाहका कारण छोटो समयमै असफल भएका छन्। पछिल्ला दशकहरूमा नेपालले औसत दुई वर्षभन्दा कम अवधिमा सरकार परिवर्तन देखेको छ, जसले राजनीतिक अस्थिरता मात्र होइन, जनविश्वासमा गहिरो चोट पुर्याएको र जनमतको अपमान भएको छ।
सम्माननीय प्रधानमन्त्री ज्यू,
तपाईं करिव दुई तिहाइको बलमा उत्ताउ लिएर, आतिएर र मातिएर होइन संयमता, विवेक र दूरदर्शिताले अगाडि बढ्नु होला। तपाईंले कसैसँग राजनीतिक प्रतिशोध साध्ने बाटो रोज्नुभयो भने त्यसले तपाईं सहित देशलाई कमजोर बनाउँनेछ। प्रतिशोधले कहिल्यै समृद्धि जन्माउँदैन, केवल विभाजन र अविश्वास मात्र जन्माउँछ।
यही सन्दर्भमा, न्याय र जवाफदेहिताको प्रश्न झन् संवेदनशील भएर उभिएको छ।
निर्वाचन अगाडि नै तयार भएको कार्की आयोगको रिपोर्ट तपाईंकै कारणले सार्वजनिक हुन नदिएको भन्ने आरोप पनि लागिरहेको छ। निर्वाचनको परिणाम आएर शपथ ग्रहण गरेको १५ घण्टा पनि नपुग्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरफ्तार गर्न शनिबारका दिन छ सय भन्दा बढी प्रहरी पठाउनुभयो। भर्खरै बुबाको १२ दिनको काम मात्र सकेर शोकमा डुब्नु भएको, दुवै मिर्गौला फेरेर रोगले गलेको त्यो वृद्ध शरीरलाई केही दिन आरामको खाँचो थियो। तर भागेर गइहाल्नुहुन्छ कि जस्तो गरेर गिरफ्तार गराउनुभयो। केही दिन आराम गर्न दिएर अलिकति मानवता देखाउनु पर्थ्यो त्यसो गर्न सक्नु भएन। तातै खाउँ जली मरौँ जस्तै गर्नुभयो। पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भदौ २३ सँग जोडेर पक्राउ गराउनु भयो। तर त्यही रिपोर्टले भदौ २४ का घटनालाई छोएको छैन।
अर्थात् त्यो दिनको घटनामा संलग्नहरूलाई छायाँमा पारिएको छ, छोपिएको छ। सिधै भन्ने हो भने जोगाइएको छ। यदि २३ गतेका दोषी भनेर छानबिन र कारबाही गरिन्छ भने, २४ गतेका दोषीहरूलाई पनि छाड्नु हुँदैन। देशका धरोहरहरू जलाउने, राष्ट्रिय सम्पत्तिमा गम्भीर क्षति पुर्याउने र देशलाई ५०औं वर्ष पछाडि धकेल्नेहरुलाई कार्की आयोगले किन देखेनरु कार्की आयोगले २४ गतेका दोषीहरूलाई प्रतिवेदनमा उल्लेख नगरे पनि, त्यस समयका भिडियो र फोटोहरूले स्पष्ट देखाएका छन् को को दोषी छन् भनेर। त्यति मात्र होइन, २३ गते अगाडीका तयारीका संकेतहरू पनि प्रमाणका रूपमा यत्रतत्र सामाजिक सञ्जालमा सर्वत्र छरिएका छन्। त्यसैले न्याय आधा होइन, पूर्ण हुनुपर्छ। कसैलाई काखा र कसैलाई पाखा नगर्नुस् प्रधानमन्त्रीज्यू। चाहे ति हालका प्रधानमन्त्री हुन् या गृहमन्त्री हुन् वा कुनै पनि उच्च पदस्थ व्यक्ति, काठमाण्डौका निवर्तमान मेयर अर्थात् बालेन साह हुन् या तपाईंको पार्टीको सभापति रवि लामिछाने, जेलबाट कैदी बन्दी भगाउने हुन् या १७ हजार मार्ने दुवै पक्ष नै किन नहुन् सबैलाई समान रूपमा कारबाहीको दायरामा ल्याइनुपर्छ।
सम्माननीय प्रधानमन्त्री ज्यू, न्याय केवल एउटा घटनामा सीमित हुनु हुँदैन।
यो देशले वर्षौँदेखि “काण्डमाथि काण्ड” भोग्दै आएको छ नुनदेखि सुनसम्मका काण्ड, सहकारी ठगीका काण्ड, निर्दोष नागरिकको पसिना र बचत लुटिएका प्रसंगहरू। त्यस्तै, निर्मला पन्तजस्ता थुप्रै निर्दोष बालिकाहरूको बलात्कारपछि हत्या गरिएका घटनाहरू अझै न्यायको पर्खाइमा छन्।
त्यति मात्र होइन, इतिहासकै गम्भीर रहस्य बनेका राजदरबार हत्याकाण्ड र मदन भण्डारीको मृत्युजस्ता घटनाका दोषीहरू आजसम्म पक्राउ पर्न सकेका छैनन्। यी सबै घटनाहरू केवल समाचार होइनन् । यी जनताको घाउ हुन्, जुन न्याय नपाएसम्म कहिल्यै निको हुँदैनन्। जब यी सबै घटनाका दोषीहरूलाई बराबरी कारबाही गरिन्छ तब मात्रै जनताले “कानुन सबैका लागि बराबर छ” भन्ने वास्तविक अनुभूति गर्नेछन्। देशमा कानुनी राज्य छ भनेर महसुस गर्नेछन्। त्यसैले,यी सबै काण्डहरुको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने आँट र क्षमता तपाईंले देखाउन सक्नुपर्छ।
त्यसैगरी, देशका सम्पूर्ण राजनीतिक नेतृत्व र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरियोस्। अवैध रूपमा आर्जित सम्पत्ति फेला परेमा कानुनी प्रक्रियामार्फत राष्ट्रिय ढुकुटीमा जम्मा गरियोस्। कसैलाई काखा र कसैलाई पाखा नगरी कानुनको पालना गर्नुहोला। अनि मात्र “यो सरकार फरक छ” भन्ने सन्देश प्रवाह हुनेछ।
कानुन तपाईंको ढाल हो, तर त्यो ढाललाई निष्पक्षता र सत्यतासँग प्रयोग गर्न सक्नुपर्छ। “म प्रधानमन्त्री हुँ” भन्ने होइन,“म कानुनको सेवक हुँ” भन्ने व्यवहारले मात्रै तपाईंलाई जनताको मनमा स्थायी बनाउनेछ।
त्यसैले, भ्रष्टाचारविरुद्ध कठोर रूपमा उभिनुहोस्, दोषी जोसुकै भए पनि, जहाँसुकै भए पनि, खोजी,खोजी कानुनको दायरामा ल्याउनुहोस्। तर “दोषी र भ्रष्ट” भन्ने नाममा केवल केही व्यक्तिहरूलाई लक्षित गर्दै जनताको ध्यान त्यतातिर मोड्ने र यता राष्ट्रिय हितसँग जोडिएका विषयहरू भन्दै महत्वपूर्ण नीतिगत निर्णयहरू जस्तै संवेदनशील अन्तर्राष्ट्रिय सम्झौता सदनबाट चुपचाप पारित गर्ने नियत त होइन भन्ने प्रश्न पनि उठिरहेको छ। यदि न्यायको नाममा ध्यान मोड्ने खेल खेलियो भने तपाईँको पतनको सुरुवात त्यहीँबाट हुनेछ। जनताले तपाईंमाथि गरेको विश्वास सधैँका लागि सुरक्षित नहुन पनि सक्छ। त्यसैले पारदर्शिता, इमानदारीता र जवाफदेहिताबाट मात्र त्यो विश्वास टिक्न सक्छ भन्ने कुरा नभुल्नुस्।
याद गर्नुस्—काठमाण्डौका गल्लीदेखि गाउँका कच्ची बाटोसम्म, लाखौँ युवाहरूले तपाईंमा आफ्नो भविष्य देखेका छन्। बेरोजगार युवाले रोजगारीको आशा, किसानले आफ्नो पसिनाको मूल्य, र सर्वसाधारणले सहज जीवनको सपना तपाईंमा देखेका छन्। यदि तपाईं सहि तरिकाले पाइला चाल्नु भएन भने पाँच वर्षको म्यान्डेट केही महिनामै समाप्त हुने इतिहास फेरि नदोहोरिएला भन्न सकिन्न। तपाईंले धैर्यता राख्नुभयो, सत्य र पारदर्शितामा अडिग रहनुभयो, र जनताको हितलाई केन्द्रमा राख्नुभयो भने तपाईं केवल प्रधानमन्त्री मात्र होइन, एउटा युगकै उदाहरणीय पात्र बन्न सक्नुहुन्छ। यस्तो उदाहरण, जसले भोलिका पुस्ताले गर्वका साथ भन्न सकून् “हो परिवर्तन सम्भव छ।”
अन्त्यमा,
सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंलाई दिएको यो अवसर केवल कुर्सी होइन यो राष्ट्रको भविष्य लेख्ने कलम हो। कृपया यो कलमलाई हतार, घमण्ड वा प्रतिशोधको मसीले होइन, विवेक, इमानदारी र समर्पणको मसीले लेख्नुहोला। तपाईंको सफलता केवल तपाईंको मात्र हुनेछैन यो सिङ्गो नेपालको जित हुनेछ। पत्र लामो भयो, आजलाई यति नै आवश्यकता अनुसार पछि फेरि लेख्दै जाउँला। धन्यवाद