पूर्वाञ्चल खबर
आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्याण्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक च्याम्पियन बनेको हो।
लगातार दोस्रो पटक उपाधि जितेको भारतले सन् २००७ मा पहिलो संस्करणको उपाधि जितेको थियो भने त्यसको १७ वर्षपछि गत संस्करणको २०२४ विश्वकप जितेको थियो । लगातार दोस्रो उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
भारत तीन पटक विश्वकप जित्ने र लगातार दुई पटक विश्वकपको उपाधि उचाल्ने पहिलो टोलो बनेको छ। भारतले आयोजकको रुपमा उपाधि जित्ने पनि पहिलो टोली बनेर पनि इतिहास बनायो।
भारत लगातार दोस्रो अनि तेस्रोपटक उपाधि जित्ने एक्लो टोली हो । न्युजिल्याण्ड भने ५ वर्षपछि फाइनल खेल्दा फेरि उपविजेतामै सीमित भएको छ । यसअघि सन् २०२१ मा अस्ट्रेलियासँग फाइनलमा पराजित भएको थियो ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा सवै विकेट गुमाई १५९ रनमा सिमित भयो ।ओपनर टिम सेफर्टले सर्वाधिक ५२ रन बनाए । कप्तान मिचेल सान्टनरले ४३ रन बनाए । अन्यबाट उल्लेख्य योगदान हुन सकेन । डारिल मिचेलले १७ रन बनाउँदा बाँकी ब्याटर दोहोरो अंकमा छुन सकेनन् ।
भारतका जसप्रित बुमराहले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । बुमराह प्लेयर अफ फाइनलसमेत भए । त्यस्तै उपकप्तान अक्षर पटेलले ३ विकेट लिए । हार्दिक पान्ड्या, वरुण चक्रवर्ती र अभिषेक शर्माले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रनको विशाल योगफल खडा गरेको थियो । सन्जु सामसनले ४६ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८९ रन बनाए । इशान किशनले २५ बलमा ५४ तथा अभिषेक शर्माले २१ बलमा ५२ रन बनाएर आउट भए । शिवम दुबेले ८ बलमा २६ रनको क्यामिओ खेले ।
न्युजिल्याण्डका लागि जिमी नीशमले ३ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए । भारतले यस विश्वकपमा सुपर ८ मा दक्षिण अफ्रिकासँग एकमात्र हार बेहोरेको थियो ।
सन्जु सामसन प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यस विश्वकपमा भारतका लागि ५ खेल मात्र खेलेका थिए । भारतका पछिल्ला तीन महत्त्वपूर्ण खेलमा शानदार प्रदर्शन गरेका उनले तीन अर्धशतकसहित ३२१ रन बनाए ।