पूर्वाञ्चल खबर
आज नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन ।
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मतपत्र, मतपेटिका सहितका निर्वाचन सामग्री पुगिसकेका छन् । भोलिदेखि मोरङका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरु खटिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिए। निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम सम्पन्न भईसकेको छ ।
निर्वाचनमा खटिने ५ हजार ३४६ कर्मचारीले नियुक्तिपत्र लिईसकेका छन् । जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रवन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दंगालले बताए । मतदान सम्पन्न भएलगत्तै मतगणनाको योजना पनि अघि बढाईएको उनले बताए । उनले भनेृ,‘ तारजाली घेरेर, सिसि टिभी राखेर मतगणनाको लागि तयारी शुरु गरिएको छ ।’ यस पटक मोरङका ६ वटै क्षेत्रको मतगणना अलग–अलग स्थानमा हुने भएको छ । यसअघि मोरङका ४, ५ र ६ को आदर्श मावि र अन्य क्षेत्रको सम्वन्धित क्षेत्रमा मतगणना हुँदै आएको थियो ।
प्रदेश निर्वाचन अधिकारी दंगालका अनुसार क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, २ को विश्वनाथ मन्दिर सिजुवा, ३ को बेलबारी ३ स्थित भगवती मावि, ४ को जनता नमुना मावि विराटनगर, ५ का सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालय र ६ का आदर्श माविमा मतगणना हुनेछ ।