खबर पूर्वाञ्चल
मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघको आयोजनामा भएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो ।
नेपालमा भ्रष्टाचार र नातावादको अन्त्यको माग गर्दै जेनजी पुस्ताले गरेको देशव्यापी आन्दोलनले राजनीतिक उथलपुथल ल्याएको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधमा सुरु भएको यो शान्तिपूर्ण प्रदर्शनले पछि हिंसात्मक रूप लिँदा ७२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए । सरकारले पछि उक्त आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सहिद घोषणा गरेको थियो ।
यसै सन्दर्भमा मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघले राष्ट्रका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण सहिदहरूको सम्मानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संघका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
संघका सचिव सरोज खड्काले राष्ट्रका लागि आफ्नो जीवन बलिदान दिने वीरहरूको सम्झनामा दीप प्रज्वलन गरिएको बताए । ‘राष्ट्रका निम्ति आफ्नो ज्यान दिई वीरगति प्राप्त गर्ने सम्पूर्ण सहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै दिप प्रज्वलन गरिएको हो ,’ सचिव खड्काले भने ।
कार्यक्रममा संघका अध्यक्ष दिपेशराज गौतम, जिल्ला कार्यसमितिका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको छ । यस दीप प्रज्वलन कार्यक्रमले जेनजी आन्दोलनका सहिदहरूको त्यागलाई स्मरण गराउँदै उनीहरूको सपना साकार पार्न सबैलाई प्रेरित गरेको छ ।