AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चुनावी तयारी बुझ्न गृहमन्त्री विराटनगर आउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ पुष २०८२, सोमबार २०:४०
171
Shares
विराटनगर / आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको सुरक्षा रणनीति र प्रदेशको समग्र सुरक्षा अवस्थाबारे समीक्षा गर्न बुधबार विराटनगरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना हुने भएको छ ।

विराटनगरको विमानस्थल मार्गस्थित होटल एसियाटिकमा हुने उक्त गोष्ठीको उद्घाटन गृहमन्त्री ओमप्रकाश आर्यालले गर्ने कार्यक्रम छ । सरकारले चुनावी मिति घोषणा गरिसकेकाले यसपटकको गोष्ठी मुख्य रूपमा निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा केन्द्रित हुनेछ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार गोष्ठीमा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहनेछ । गोष्ठीमा सबै जिल्लाका सुरक्षा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको विद्यमान सुरक्षा अवस्था, चुनौती र निर्वाचन लक्षित कार्ययोजनाबारे गृहमन्त्रीसमक्ष विस्तृत ‘ब्रिफिङ’ गर्ने कार्यसूची छ ।

‘‘प्रत्येक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुने नियमित प्रक्रिया भए पनि यसपटक निर्वाचनलाई मुख्य एजेन्डा बनाइएको छ,’’ सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले भने, ‘‘निर्वाचनका बेला हुन सक्ने सुरक्षा चुनौतीको पहिचान र त्यसलाई सामना गर्ने रणनीतिबारे गोष्ठीमा विशेष छलफल हुनेछ ।’’

गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुखहरूको सहभागिता रहनेछ । निर्वाचन घोषणापछिको विकसित सुरक्षा परिस्थिति, सीमा क्षेत्रको संवेदनशीलता र जिल्लागत सुरक्षा रणनीतिका विषयमा सुरक्षा प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुति दिने तयारी गरिएको छ ।

विशेष गरी निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण र सुरक्षा संयन्त्रबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा गृहमन्त्री आर्यालले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर