AArya
RUMPUM
animated ellipse animated ellipse

छोरी दिन अस्वीकार गर्दा ज्वाइँ-ससुरालाई नै लागुऔषधमा फसाउने षडयन्त्रको घटना सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ पुष २०८२, बिहीबार ०९:१०
144
Shares
विराटनगर । मोरङको धनपालथानमा छोरी नदिएको निहुँमा एक व्यक्तिले ज्वाइँ-ससुरालाई नै लागुऔषध मुद्दामा फसाउने षडयन्त्र गरेको घटना सार्वजनिक भएको छ ।

धनपालथान गाउँपालिका–७ का २७ वर्षीय विशालकुमार सिंह एउटी युवतीलाई मन पराउँथे । युवतीको घरमा हात माग्न पनि पुगेका थिए । तर, युवती र उनको परिवारले विशाललाई अस्वीकार गरे ।

मंसिरमा युवतीको विवाह अर्कै युवकसँग भयो । आफूले मन पराएको केटी अर्कैको भएपछि विशालको युवतीको परिवारलाई फसाउने योजना बनाए । फसाउन विभिन्न षडयन्त्र रचे ।

फिल्मी शैलीजस्तो देखिने योजना अनुसार विशालले सुरुमा युवतीका बुवालाई फसाउन खोजे । त्यसपछि श्रीमानलाई निशाना बनाए । दुवैलाई लागुऔषध मुद्दामा फसाएर जेल पठाउने र युवतीलाई आफ्नो बनाउने विशालको मनसाय देखिएको प्रहरी स्रोतले बतायो ।

मंसिर २७ गते धनपालथान–४ कर्सिया बजारमा प्रदेश–१–०४–००२ प ६४७१० नम्बरको मोटरसाइकलको इन्डिकेटरभित्र लागुऔषध खैरो हिरोइन ९ब्राउन सुगर० लुकाइएर राखिएको सूचना प्रहरीमा पुग्यो । प्रहरी पुग्दा मोटरसाइकल चालक २९ वर्षीय राजीव चौधरी खाजा खाँदै थिए ।

प्रहरीले खानतलासी गर्दा १३.३१० ग्राम लागुऔषध ब्राउन सुगर भेटियो । तर, राजीवको हाउभाउ र आत्मविश्वास देखेपछि प्रहरी अलमलमा पर्यो । उनी निर्दोष जस्तै देखिन्थे ।

पुरानो फाइल पल्टाउँदा खुलेको रहस्य

प्रहरीलाई शंका लाग्यो । ठीक यस्तै घटना २०८२ वैशाख २० गते पनि भएको थियो । त्यसबेला चन्द्रशेखर मण्डलको मोटरसाइकलमा लागुऔषध भेटिएको थियो । तर, ल्याब रिपोर्ट नेगेटिभ आएपछि उनी छुटेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रहरीले दुवै घटनालाई जोडेर हेर्दा रोचक तथ्य खुल्यो । पहिले पक्राउ परेका चन्द्रशेखर र अहिले पक्राउ परेका राजीव नाताले ससुरा–ज्वाइँ रहेछन् । अझ अचम्मको कुरा त के थियो भने दुवै घटनामा प्रहरीलाई सुराकी दिने व्यक्ति एउटै थिए ।

प्रहरीले सुराकी दिने विराटनगर महानगरपालिका–९ का २७ वर्षीय राजा धोवीलाई नियन्त्रणमा लियो । धोवी पक्राउ परेपछि रहस्यको पोको खुल्यो । उनले विशालकुमार सिंहको योजनामा १० हजार रुपैयाँको लोभमा ससुरा–ज्वाइँको मोटरसाइकलमा लागुऔषध राखेको स्वीकारेको एसपी कटवालले बताए ।

धोवीको बयानपछि प्रहरीले विशालका सहयोगीहरू रोशन मण्डल र पारस मण्डललाई पक्राउ गर्यो । अन्त्यमा मुख्य योजनाकार विशालकुमार सिंह पनि प्रहरीको फन्दामा परेका छन् । पक्राउ परेपछि विशालले घटना स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा रहेका चारै जना पेसेवर चोर र पटके अपराधी हुन् । वाइरिङको काम गर्ने आवरणमा उनीहरू अपराधमा सक्रिय रहने गरेको प्रहरीले जनाएको छ ।

‘प्रहरीको सूक्ष्म अनुसन्धान र सतर्कताले गर्दा निर्दोष व्यक्तिहरू फस्नबाट जोगिए,’ एसपी कटवालले भने, ‘फसाउने योजना बुन्ने गिरोह नै अहिले हिरासतमा छन् । थप अनुसन्धान भइरहेको छ ।’ घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर