हाटखोला भेट्रान कपको क्वाटरफाइनलमा

खबर पूर्वाञ्चल, १४ भाद्र २०७९, मंगलवार १३:५१
180
Shares
विराटनगरमा जारी भेट्रान कप अन्तरगत सोमबार साती भएको खेलमा मुख्य रेफ्रि विक्रम कार्कीलाई फुटबल दिँदै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउत । तस्वीर पुष्पराज थपलिया

विराठटनगर / विराटनगरको हाटखोला भेट्रान फुटबल क्लब विराटनगरमा जारी विराट मेघा भेट्रान फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहिद मैदानमा सोमबार राती भएको खेलमा आयोजक विराट मेघा भेट्रान क्लबलाई १०–० कोे फराकिलो अन्तरले पराजित गर्दै हाटखोलाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

हाटखोलाको जितमा राजकुमार घिसिंगले ह्याट्रिक गरेका थिए । त्यसैगरि, विक्रम श्रेष्ठ, सागर थापाले समान दुई, तेजबहादुर घलानी, सुमन श्रेष्ठ, नरेश श्रेष्ठले समान १ गोल गरेका थिए । हाटखोलाको जितमा ८ जना ए डिभिजनदेखि अन्र्तराष्ट्रियस्तरको खेलमा सहभागि भइसकेका पूर्व खेलाडीको सहभागिता रहेको थियो । सोही अनुभवको सदुपयोग गर्दै हाटखोलाले मैदानमा निरीह बनेको आयोजक विराट मेघालाई फराकिलो अन्तरको गोल प्रहार गरेको थियो ।

सुरुआतबाट आक्रमक बनेको हाटखोलाका लागि खेलको १६ औं मिनेटमा गोल गर्दै विक्रम श्रेष्ठले अग्रता दिलाएका थिए । त्यसपछि २१ औं मिनेटमा तेजबहादुरले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमै थकित विराट मेघाविरुद्ध हाटखोलाका लागि खेलको २८ औं मिनेटमा सुमन श्रेष्ठले तेस्रो गोल गरे । धनकुटा घर भएका सुमन धरानस्थित एन्फा एकेडेमीका प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी हुन् । ३५ मिनेटको पहिलो हाफमा ३ शुन्यले पछि परेको आयोजक टोली त्यसपछि खेलमा फर्कन सकेन् ।

खेलको दोस्रो हाफमा हाटखोलाले थप ६ गोल गर्न सफल भयो । खेलको ३९ औं मिनेटमा नरेश श्रेष्ठले गोल गर्दा, ४५ औं मिनेटमा राजकुमार घिसिंगले खेलको पाँचौ गोल गरे । कप्तान सागर थापाले गोल प्रहारलाई  निरन्तरता दिदैं खेलको ४७ औं मिनेटमा अर्को गोल थपे। यसक्रममा विराटका गोलरक्षक विकास माझी खेल अवधीभर गोल जोगाउन ब्यस्त रहे ।

सोही क्रममा राजकुमारले खेलको ४९ औं मिनेटमा गोल गर्दै आफ्नो ब्यक्तिगत गोल संख्या दुई पुराउन सफल भए । उनले गोल गरेको ३ मिनेट नवित्तै खेलको ५१ औ मिनेटमा विक्रम श्रेष्ठले ब्यक्तिगत दोस्रो र टोलीका लागि आठौं गोल गरे । त्यसपछि कप्तान थापाले खेलको ५५ औं गोल गर। गोल गर्नेक्रमलाई निरन्तरता दिदैं राजकुमारले खेलको ६७ औं मिनेटमा ह्याट्रिक पुरा गरे । राजकुमार उत्कृष्ठ खेलाडी घोषित भए । प्रतियोगिता अन्र्तगत मंगलबार मधेश प्रदेशको लाहान भेट्रान क्लबले आयोजक विराट मेघा भेट्रान क्लब बी को सामना गर्ने प्रतियोगिता संयोजक बसन्त राज अर्यालले जानकारी दिए । प्रतियोगितामा सहभागी टोलीले ८ जना ४० वर्ष उमेर माथि र ३ जना ५० वर्ष उमेर माथिका खेलाडीलाई सहभागि गराउनुपर्ने
प्रावधान राखेको प्रतियोगिता सह संयोजक विनेश बस्नेतले बताए ।

सागर थापाको कप्तानीमा जित
खेल मिलोमतो प्रकरणपछि पहिलोपटक नेपालका पूर्व कप्तान सागर थापा विराटनगरस्थित सहिद मैदानमा उत्रिएका थिए । लामो समय फुटबलको मैदानबाट टाढा रहेका थापाले यसपटक टोलीलाई मात्र जिताएनन्,
२ गोल समेत गर्न सफल भए । थापाको फुटबल खेलजीवन विराटनगरको मोतिराम क्लबबाट भएको हो ।

यसैगरि, हाटखोला भेट्रान क्लब उनको लागि घरेलु टोली सरह हो । थापा २०७२ सालमा खेल मिलोमतो(म्याच फिक्सिंग) प्रकरणमा परेका थिए । अखिल नेपाल फुटबल संघ एन्फाका एक उच्च अधिकारीका अनुसार हाल पनि थापा फुटबलको सर्वोच्च निकाय फिफाको कार्वाहीमा रहेका छन् ।
उनका अनुसार थापालाई एसियन फुटबल संगठनको (एएफसी) लाइफ ब्याण्ड(जीवनभर) कार्वाही गरेको छ ।

थापाले एन्फाद्धारा सञ्चालित फुटबल प्रतियोगितामा सहभागिता जनाउन नपाउने अधिकारीले जानकारी दिए । गतवर्ष जिल्ला फुटबल संघ काठमाडौंले समेत थापाको कार्वाही फुकुवा गरि भेट्रान खेलमा सहभागिताका लागि आग्रह गरेको उनले बताए । तर, एएफसीले एन्फालाई पत्र पठाउँदै एन्फा कार्वाहीमा परेका सबै ६ जना  फुटबलका कुनैपनि आयोजनामा सहभागि हुन नपाउने जनाएको ती अधिकारीले बताए । उनका अनुसार कार्वाही मा परेका सबै जनाले विद्यालयस्तरको फुटबलमा प्रशिक्षण समेत दिन पाउँदैनन् । त्यसैगरि, एन्फामातहतको कुनै पनि कार्यक्रममा उनीहरु सहभागि हुन नपाउने उनको भनाई छ । यद्धपी, त्यसबाहेक अन्य खेलमा सहभागिताबारे एन्फासमेत अनभिज्ञ रहेको उनको भनाई छ । अर्कोतर्फ, थापा लगायत अन्य ६ जना खेलाडीलाई खेल मिलोमतो प्रकरणमा २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा उनीहरुलाई २०७५ जेठमा विषेश अदालतले निर्दोष ठहर गर्दै सफाई दिएको थियो ।

विशेषको सो फैसलाविरुद्ध सरकारी पक्षले २०७५  मंसिरमा पुनरावेदन गरेको थियो । अदालतले खेल मिलोमतोको विषयमा कानून निर्माण भएको जनाउँदै सफाई दिएको भएपनि उनीहरुमा राज्यविरुद्धको अपराध मुद्धा कायम थियो । सो मुद्धा सर्वोच्च अदालतमा रहयो । २०७७ अषाढ २ गते
सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्द मोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले उनीहरुलाई सफाई दिएको थियो। थापासहित ६ जनाविरुद्ध २०६८ सालमा विश्वकप छनोट चरणका खेलमा मिलोमतो
गरेको आरोप रहेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५