AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ५ करोड लगानीमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, पूर्वमै पहिलो पटक गो–कार्टको मज्जा लिन पाइने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ मंसिर २०८२, बिहीबार १८:०५
306
Shares
विराटनगर / कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ ।

विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो ।

सञ्चालक समितिले आज पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको तयारी पूरा भएको र यसले प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशा दिने जानकारी गराएको छ ।

नेपालकै व्यवस्थित क्रिकेट एकेडेमी र स्टार खेलाडीको प्रशिक्षण
विराट स्पोर्ट्स जोनको मुख्य आकर्षणका रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी रहेको छ । व्यवस्थापन पक्षका अनुसार यो नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमीमध्ये एक हो ।

एकेडेमीमा प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिन राष्ट्रिय क्रिकेट टिमका पूर्व चर्चित खेलाडी सिद्धान्त लोहनी र पूवै खेलाडी सञ्जम रेग्मीसहितको अनुभवी प्रशिक्षक टोली रहनेछ । बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहितको यो एकेडेमीले प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट प्रतिभा उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ को रोमाञ्च
साहसिक र मनोरञ्जनात्मक खेल रुचाउनेहरूका लागि स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक ‘गो–कार्ट’ ट्र्याक सञ्चालनमा ल्याउने भएको छ । आधुनिक सुरक्षा मापदण्ड र व्यवस्थित ट्र्याक सहित सुरु हुन लागेको यो सेवाले सबै उमेर समूहका खेलप्रेमीलाई आकर्षित गर्ने विश्वास लिइएको छ ।

स्पोर्ट्स जोनमा क्रिकेट र गो–कार्ट बाहेक अन्य विभिन्न खेलहरूको पनि सुविधा उपलब्ध गराइनेछ । यहाँ फुटसल, ‘क्रीकसल’ क्रिकेट र फुटसलको हाइब्रिड, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस खेल्न सकिनेछ । साथै, फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको प्रत्यक्ष निगरानीमा सञ्चालन हुनेछन् । सेवाग्राहीलाई सहजता प्रदान गर्न २५ जनाभन्दा बढी कर्मचारी खटाइने व्यवस्थापनले जनाएको छ ।

विराट स्पोर्ट्स जोनका अध्यक्ष हरिप्रसाद बजगाईंले खेलकुदलाई सुरक्षित र व्यावसायिक बनाउन खेलाडीहरूको बिमा योजना पनि ल्याइएको जानकारी दिए । उनका अनुसार यहाँ प्रशिक्षण लिने प्रत्येक खेलाडीको ५ लाख रुपैयाँ बराबरको जीवन बिमा गरिनेछ ।

एकेडेमीमा भर्ना हुनका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने मासिक शुल्क ३ हजार रुपैयाँ तोकिएको अध्यक्ष बजगाईंले बताए ।

खेलकुदसँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्दै स्पोर्ट्स जोन परिसरभित्र शाकाहारी क्याफे सञ्चालनमा ल्याइएको छ । खेलमैत्री वातावरण कायम राख्न यस्तो अवधारणा ल्याइएको बताइएको छ ।

बजगाईंको अध्यक्षतामा रहेको सञ्चालक समितिमा सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्यहरू अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेती रहेका छन् । यो टिमले स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर