AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेनजी आन्दोलनका क्रममा आपराधिक कार्यमा संलग्नहरुलाई कारवाहीको माग गर्दै एमाले मोरङद्धारा प्रहरीमा जाहेरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०८२, शुक्रबार १७:०५
675
Shares
विराटनगर / नेकपा एमाले मोरङले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।

एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरुले आज सामुहिक रुपमा जाहेरी दिएका हुन । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको विवरण सहित एमालेले कारवाहीको माग गर्दै जाहेरी दिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा प्रहरी प्रमुख एसपी कवित कटवाललाई जाहेरी बुझाईएको एमाले मोरङले गठन गरेको कार्यदलका सदस्य मुकेश बुढाथोकीले बताए। जाहेरी ग्रहण गर्दै एसपी कटुवालले घटनामा संलग्नहरुलाई कारवाही गरिने बताए। लुटपाट, तोडफोड र आगजनीमा संलग्नहरुलाई पक्राउ गर्न शुरु गरिएको बताउँदै उनले एमालेले दिएको जाहेरीले अनुसन्धानमा थप सहयोग पुग्ने बताए ।

एमाले मोरङले गठन गरेको अध्ययन कार्यदलको प्रतिवेदनका आधारमा घटनामा संलग्नहरुलाई कारवाहीको माग राखेर जनसंगठनहरुले सामुहिक रुपमा जाहेरी दिएको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए। उनका अनुसार जाहेरीसँगै घटनामा संलग्न व्यक्ति, आपराधिक समूहको फोटो, भिडियो सहितको विवरण समावेश गरिएको छ ।

यसअघि एमाले मोरङले अध्ययन प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । पार्टी कार्यालय पाञ्चालीमा अध्ययन कार्यदलका संयोजक तथा कोशी प्रदेशसभा सदस्य उमाकान्त गौतमले प्रतिवेदन एमाले मोरङका अध्यक्ष अजम्वर राई र केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज जीवन घिमिरेलाई संयुक्त रुपमा हस्तान्तरण गरे।

प्रतिवेदन हस्तान्तरण गर्दै उनले मोरङका सवै सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा भएको तोडफोड, लुटपाट र आगजनीको विवरण सार्वजनिक गरे। अध्ययन कार्यदलका संयोजक गौतमले स्थलगत अध्ययनका क्रममा ५ अर्वको क्षति भएको पाईएको बताए।

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज घिमिरेले सरकारले सार्वजनिक, सरकारी र निजी सम्पत्तीमा भएको तोडफोड, लुटपाट र आगजनीबारे अध्ययन गरेपनि एमालेले पनि छुट्टै अध्ययन गरेको बताए। एमालेले गरेको अध्ययनमा मोरङको समग्र क्षतिको विवरण समेटिएको उनले बताए ।

आज जनसंगठनहरुका तर्फबाट संयुक्त जाहेरी दिइएको र त्यसपछि व्यक्तिगत रुपमा पनि जाहेरी दिइने नेता घिमिरेले बताए । जनवर्गिय संगठनहरु राष्ट्रिय यूवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, नेपाल खेलकुद महासंघ, अखिल नेपाल पिछडावर्ग महासंघ, राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, भूमि अधिकार तथा श्रमिक संगठन, अखिल नेपाल किसान महासंघ, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ, नेपाल बौद्धिक परिषद्, पेशागत महासंघ नेपाल, नेपाल उत्पीडित जातिय मुक्ति समाज, नेपाल मुस्लिम इत्तेहात संगठन लगायतका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त रुपमा जाहेरी दिएका हुन ।

एमालेले गठन गरेको कार्यदलमा उमाकान्त गौतमसहित सदस्यहरु मुकेश बुढाथोकी, भोला अधिकारी, इरन राई र अजिम आलम रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर