पूर्वाञ्चल खबर
आज विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाहिर रहेका सबै क्रान्तिकारी कम्युनिष्टसहित एमालेलाई पनि एकतामा आउन आह्वान गरेका हुन् ।
आफ्नो पार्टीले गरेको एकता सन्देश सभा सामान्य आमसभा मात्र नभई ‘संकल्प सभा’ को संज्ञा दिँदै श्रेष्ठले पार्टी एकता केवल चुनाव जित्न वा शक्ति आर्जन गर्नका लागि मात्र नभएको स्पष्ट पारे । ‘पार्टी एकता शक्ति आर्जन गर्न र चुनाव जित्न गरियो, त्यो ठीक हो । तर, एकता किन भन्नेमा प्रष्ट हुनुपर्छ,’ श्रेष्ठले भने, ‘हामीले देशको राष्ट्रिय सार्वभौमिकता, स्वाधिनताको रक्षा गर्न, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न एकता आवश्यक ठानेका हौं ।’
नेता श्रेष्ठले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको एजेण्डा स्थापित हुन नसक्दा ‘जेनजी’ बिद्रोह भएको टिप्पणी गरे । उनले विदेशमा रहेका ३० लाखभन्दा बढी नेपाली युवालाई स्वदेशमै श्रम र पसिना बगाउने वातावरण बनाउन नसके आफ्नो राजनीतिको औचित्य पुष्टि नहुने जिकिर गरे । ‘समाजवाद निर्माण गर्नका लागि आर्थिक समृद्धि अपरिहार्य छ,’ उनले भने, ‘एकीकृत पार्टीका नेता कार्यकर्ताले यो उद्देश्य पूरा गर्न हामी के गर्छौं भन्ने कुरामा प्रष्ट हुनैपर्छ ।’
सम्बोधनका क्रममा श्रेष्ठले पार्टी र नेताहरु स्वयं पनि रुपान्तरण हुनुपर्नेमा जोड दिए । विचारको उज्यालोमा मात्रै अगाडि बढ्न सकिने भन्दै उनले संगठनमा विधि र पद्धतिको पालना कडाइका साथ हुनुपर्ने बताए । ‘पार्टीभित्रको भ्रष्टीकरणलाई अन्त्य गर्नुपर्छ र जनतासँगको सम्बन्धलाई सुदृढ गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘त्यसपछि मात्रै पार्टीले वास्तविक विजय हासिल गर्न सक्छ ।’ उनले राष्ट्रियतामाथिको खतरा रोक्न र देशलाई सामाजिक तथा आर्थिक समृद्धिको दिशामा लैजान निर्वाचन आवश्यक रहेको समेत औंल्याए ।