AArya
RUMPUM
animated ellipse animated ellipse

उत्कृष्ट हुने १३७ विद्यार्थीलाई विराटनगरको शिक्षादिप कलेजद्वारा नगदसहित सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०८२, बुधबार १६:२९
837
Shares
विराटनगर / विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विराटनगरस्थित शिक्षादिप कलेजले नगदसहित सम्मान गरेको छ ।

कलेजले कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा बढी अंक ल्याउन सफल १३७ जना विद्यार्थीहरूलाई आज कलेज परिसरमा आयोजित एक विशेष समारोहका बीच नगदसहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा कक्षा ११ का ७७ जना र कक्षा १२ का ६० जना विद्यार्थी रहेका छन् । कलेजले ८० प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने सबै विद्यार्थीलाई सम्मान पत्र प्रदान गरेको छ भने कक्षागत रूपमा उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद राशिसहित सम्मान गरेको छ ।
क–कसले पाए उत्कृष्ट १० को उपाधि ?
कलेज प्रशासनका अनुसार कक्षा ११ बाट उत्कृष्ट १० भित्र पर्दै नगद पुरस्कार जित्ने विद्यार्थीहरूमा सुवोध साह, सुशान्त खत्री, एलिस सापकोटा, कुसुमकुमारी राजवंशी, सविर आहमत हक, प्रिती देव, आयुष शर्मा, अन्जली दास, प्रिन्सकुमार गुप्ता र आर्यन झा रहेका छन् ।

त्यसैगरी, कक्षा १२ तर्फ उत्कृष्ट १० मा पर्न सफल विद्यार्थीहरूमा शकिल अहमद हक, शिरिन भट्टराई, समिर डोटेल, प्रगति अधिकारी, अदिति कुमारी रोनियार, सुभम यादव, समा अन्जुम, निहारिका ढकाल, खुस्बु ढकाल र जय नारयण साह रहेका छन् । उनीहरूको लगनशीलताको कदर गर्दै कलेजले नगदसहित पुरस्कृत गरेको हो ।

अतिरिक्त क्रियाकलाप र विशेष छात्रवृत्ति
शैक्षिक नतिजाका अलावा कलेजले अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरूलाई पनि सोही अवसरमा पुरस्कृत गरेको छ । केही दिनअघि ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ को अवसरमा आयोजित निबन्ध लेखन प्रतियोगितामा प्रथम भएकी सिरिन भट्टराई, द्धितीय भएकी एलिसा सापकोटा तथा तृतीय स्थान हासिल गर्ने मनिष मनहोर र प्रतिक भट्टराईलाई पुरस्कार प्रदान गरियो । साथै, हिज्जे प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरियो । जसमा प्रथम स्थान हासिल गर्ने सिरिन भट्टराईसहित द्धितीय हुने राजु अधिकारी, भानुजा ताजपुरिया, ओम प्रकाश चौधरी र तृतीय हुने शकिल अहमद हक, आर्यन यादव, बिनु चौधरी, केशव झा, कृतिकाकुमारी यादव, प्रकृति चन्द्र र सरस्वती चौधरीलाई कलेजले सम्मान गरेको छ ।

कार्यक्रमको अर्को आकर्षण ‘स्वर्गीय देविप्रसाद दाहाल स्मृति कोष’ बाट प्रदान गरिएको विशेष सम्मान थियो । कलेजका निर्देशक भुपेन्द्र दाहालले आफ्ना स्वर्गीय बुवाको सम्झनामा स्थापना गरेको उक्त कोषबाट यस वर्ष कक्षा १२ का छात्र सरगम लोहारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन पूरा गरी गत वर्ष शिक्षादिपमा भर्ना भएका लोहार जेहेन्दार विद्यार्थी हुन् ।

अनुशासन र परिश्रम नै सफलताको कडी : प्रिन्सिपल खड्का
कार्यक्रममा विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले उत्प्रेरणादायी मन्तव्य राखेका थिए । विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले भने, “सफलता संयोग होइन, यो निरन्तरको लगन, अनुशासन र कडा परिश्रमको फल हो । आज ८० प्रतिशतभन्दा माथि अंक ल्याउने विद्यार्थीहरूले यो कुरा पुष्टि गरेका छन् ।’’

प्रिन्सिपल खड्काले शिक्षादिप कलेजले सधैं गुणस्तरीय शिक्षामा जोड दिँदै आएको र विद्यार्थीलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी सर्वांगीण विकासमा ध्यान दिएको बताए । उनले भने, “तपाईंहरूको यो नतिजाले हामीलाई थप जिम्मेवार बनाएको छ । कलेजले प्रदान गर्ने शैक्षिक वातावरण र विद्यार्थीको मेहनत एकै ठाउँमा मिसिँदा नै उत्कृष्ट नतिजा निस्कन्छ । यो नतिजालाई अन्तिम बोर्ड परीक्षासम्म मात्र होइन, जीवनको हरेक परीक्षामा कायम राख्नुपर्छ ।’’

कार्यक्रममा कलेजका विज्ञान संकायका कोर्डिनेटर नविनकुमार रोय, निर्देशकहरू भुपेन्द्र दाहाल, राजेन्द्रप्रसाद मण्डल, शेषनारायण चौधरी, नारायण रेग्मी, रामचन्द्र अधिकारी र मणिराज भट्टराईलगायतले विद्यार्थीहरूलाई माला लगाएर सम्मान पत्र तथा पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर