पूर्वाञ्चल खबर
एमालेको देशभर पालिका स्तरीय बृहत कार्यक्रम गर्ने कार्यक्रम अनुसार विराटनगरमा पनि उक्त कार्यक्रम गरिएको महानगर कमिटीले जनाएको छ ।
६ वटै पालिका कमिटीले आज संयुक्त पत्रकार सम्मेलन गरी बृहत मोटरसाईकल र्याली कार्यक्रमको तयारी पुरा भएको जानकारी दिएको छ । एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीका अनुसार महानगरबाट ७ सय र छिमेकी ५ पालिकाबाट ४ सय मोटरसाईकल गरी ११ सय मोटरसाईकल र्यालीमा हुनेछन् । यो पत्रकार सम्मेलन गर्दासम्मको तथ्यांक भएको र अझै मोटरसाईकल बढ्ने सम्भावना रहेको उनले जानकारी दिए ।
एमाले विराटनगर महानगर कमिटीका सचिव विज्ञान चापाँगाईका अनुसार एमाले महानगर कमिटी विराटनगर, एमाले पालिका कमिटी बुढीगंगा, ग्रामथान, कटहरी, धनपालथान र जहदाले संयुक्त रुपमा बृहत मोटरसाइकल र्यालीको आयोजना गरेको हो ।
एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमाबाट निकालिने मोटरसाईकल र्याली रोडशेष हुँदै मेनरोड, तीनपैनी भएर पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत हुने र कोणसभालाई केन्द्र्रिय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका कोशी प्रदेश सचिवालय सदस्य तथा महानगर ईन्चार्ज पर्शुराम बस्नेतले जानकारी दिए ।
एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले संसद पूर्नस्थापनाको माग सहित एमालेले देशभर जनप्रदर्शन गरिरहेको जानकारी दिए । उनले अहिलेको सरकार असंबैधानिक भएको र संसद पूर्नस्थापना गरेर बैधानिक सरकार गठन गरेर संविधान संशोधन गरी जेनजीका माग पुरा गर्नुपर्ने बताए ।
एमालेले कात्तिक २९ गते जिल्ला स्तरीय कार्यक्रमको आयोजना गर्दै छ ।