AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न एमाले अध्यक्ष ओलीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ श्रावण २०८२, सोमबार १८:५८
108
Shares
विराटनगर / एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताएका छन् ।

आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै अध्यक्ष ओलीले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराए । ‘हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ ।

राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ । अध्यक्ष ओलीले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताए । उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्ने छ,’ उनले केन्द्रीय कमिटी बैठकमा भने ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा भेटेको बताए । ‘भेटवार्तासम्बन्धी प्रस्ताव उहाँबाटै आएको हो । कहाँ भेट्ने ? भन्ने प्रश्नमा उहाँले ‘पार्टी कार्यालय नगएको धेरै भयो, त्यहीँ आउँछु’ भन्नुभयो र त्यसपछि भेटवार्ता पार्टी कार्यालयमै सम्पन्न भयो,’ ओलीले बैठकमा भने, ‘तर, उहाँ आउँदा केही असन्तुष्ट र आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए, जो पशुपतिमा समेत देखिएका थिए ।’ उनले पार्टीविरुद्ध अभिव्यक्ति दिएमा कारबाही हुने चेतावनी पनि दिए । ‘उमेरको हद तोक्ने हो भने जेल बसेको उमेर घटाउनुपर्छ भनेर प्रचार गरे । त्यस्तै, भण्डारीले बालुवाटार जान मानिनन् भनेर गलत प्रचार गर्नु पनि बेठीक हो,’ उनले भने, ‘हिजोको बैठकलाई ‘कट अफ’ बैठकको रूपमा लिनुपर्छ । अब यस्ता अनुशासनहीन गतिविधि दोहोरिए कारबाही अवश्य हुनेछ । एमाले र हाम्रो नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेकै बेलामा सबैले एकताबद्ध भएर अघि बढ्नु अत्यावश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर