खबर पूर्वाञ्चल

आयोजकका अनुसार, कार्यक्रमका लागि अनलाइनमार्फत ५ सय भन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए । छनोट भएका २५० जना विद्यार्थीहरूबाट ३–३ जनाको ४० वटा टिम निर्माण गरिएको छ । यी टिमले अब २४ घण्टाभित्र आयोजकले प्रदान गरेको थिममा आधारित भएर आ–आफ्नो प्रोजेक्ट तयार गर्नेछन् ।
यस ह्याकाथनमा उत्कृष्ट हुने टिमहरूलाई पुरस्कृत गरिनेछ । प्रथम हुने टिमले ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । सहभागीहरूका लागि खाना र बसोबासको निःशुल्क व्यवस्था गरिएको छ भने सबै सहभागीले टिसर्ट, स्टिकर जस्ता उपहारहरू पनि पाउनेछन् ।
कार्यक्रमको निर्णायक मण्डलमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विभागीय प्रमुख पुकार कार्की, एम्स कलेजका प्रिन्सिपल प्रशान्त पोखरेल, उद्योग संगठन मोरङका निर्देशक चुडामणी भट्टराई र विराट मल्टिपल क्याम्पसका आईटी प्रमुख सुशान्त भट्टराई रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुवेश प्याकुरेल रहेका थिए । कार्यक्रममा बोल्दै अरनीको कलेजका प्रिन्सिपल राजेश कार्कीले यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा ठूलो सहयोग पुर्याउने र उनीहरूका लागि यस्तो मञ्च अत्यावश्यक रहेको बताए । यो कार्यक्रम नेपालकै सबैभन्दा ठूलो टिन ह्याकाथनु मध्ये एक भएको र यसले युवा इनोभेटरहरूलाई विश्वव्यापी अवसरहरूसँग जोड्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।