पूर्वाञ्चल खबर
तीन दिन सम्म सञ्चालन गरिने नमूना संयुक्त राष्ट्रसंघ सभाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले शुभारम्भ गरे ।

विद्यार्थीले गरेका छलफलले विश्व राजनीतिमा पनि राम्रो सन्देश दिने मन्त्री राईको भनाई छ । उनले भने,‘ विश्वव्यापी विषयमा घनिभूत छलफल गर्नुहोला । एभरेष्टका विद्यार्थीले दिएको सुझाव कोशेढुङ्गा सावित हुने अपेक्षा लिएको छु ।’ उनले विद्यार्थीलाई प्रतिष्पर्धी हुन आग्रह समेत गरे।
ग्लोबल हेल्प फाउण्डेशनसँगको सहकार्यमा एभरेष्ट स्कुलले पहिलो पटक आयोजना गरेको नमूना संयुक्त राष्ट्रसंघ सभाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गरि अन्तर्राष्ट्रिय स्तरका ज्वलन्त समस्याहरुको पहिचान र समाधानका लागि विकल्पहरु खोज्न सिकाउने, विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकास गराउने तथा अन्तर्राष्ट्रिय नीति, कुटनीति, सम्वन्ध, नियम समस्याहरुका विषयमा तार्किक विश्लेषण गर्ने सामथ्र्य बढाउने, समालोचनात्मक चेतको विकास गराउँदै सहकार्यको भावना जागृत गराउने लगायतका उद्देश्य रहेको प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
तीन दिनको कार्यक्रममा विश्वव्यापी समस्याको छलफल, कुटनीतिक प्रकृयाका विषयमा विद्यार्थीले जानकारी हासिल गर्ने उनले बताए । संयुक्त राष्ट्रसंघ सभाबारे ग्लोबल हेल्प फाउण्डेशनका प्रतिनिधिहरुले सहजीकरण गर्ने प्रिन्सिपल पुरीले जानकारी दिए।
नमूना संयुक्त राष्ट्रसंघको अभ्यासमा एभरेष्टका ३३ जना विद्यार्थीहरुे विभिन्न देशका सांकेतिक प्रतिनिधिहरुको रुपमा सहभागि रहेका छन् । उनीहरुले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा, राष्ट्रसंघ मानव अधिकार परिषदमा कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकार उल्लङ्घनहरूलाई सम्बोधन गर्ने, विश्व स्वास्थ्य संगठनमा कोभिड –१९ पछि विद्यालय र समुदायहरूमा मानसिक स्वास्थ्य सहयोग सुनिश्चित गर्ने, संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रममा दिगो कृषि मार्फत जलवायु लचिलोपन प्रवद्र्धन गर्ने, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनमा विपद् तयारी र प्रतिक्रियाको लागि क्षेत्रीय सहयोगलाई सुदृढ गर्ने लगायतका एजेन्डामा छलफल गर्ने आयोजक कमिटीका संयोजक इशल भट्टराईले जानकारी दिए। कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका २ सय बढी विद्यार्थी सहभागि छन् ।