AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमालेका नेता कामतविरुद्ध  घरेलु हिंसादेखि सम्बन्ध विच्छेदसम्मको मुद्दा दायर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ जेष्ठ २०८२, बुधबार ११:४३
720
Shares
विराटनगर / नेकपा एमाले कोशी प्रदेशका सचिवालय सदस्य बालेश्वर कामतविरुद्ध चार वटा मुद्दा दायर भएको  छ ।
विराटनगर ८ मधुमारा निवासी ४१ वर्षीय कामतविरुद्ध उनकी पत्नी ४० वर्षीया नम्रता काफ्लेले चार वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेकी हुन् ।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार नम्रताले आफ्ना पति बालेश्वरलाई प्रतिवादी बनाएर अंश र सम्बन्ध विच्छेद, मानहानि, गालीबेजती र घरेलु हिंसाका मुद्दा दायर गरेकी छिन् । यसैगरी बालेश्वरले आफ्नी श्रीमती नम्रता र १७ वर्षीय छोरीलाई प्रतिवादी बनाएर जालसाज मुद्दा दर्ता गराएका छन् ।
नम्रताले अदालतमा दर्ता गरेको फिराद पत्रअनुसार २०६१ साल साउन १३ गते अन्तरजातीय प्रेम विवाह भएको तीन वर्षपछि बालेश्वरले उनीमाथि शारीरिक र मानसिक यातना दिन थालेका थिए । ‘मलाई तथा नाबालक छोराछोरीलाई समेत कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिइआउनु भएको थियो,’ फिराद पत्रमा उल्लेख छ ।
नम्रताका अनुसार बालेश्वरले उनलाई दशैं–तिहारलगायतका चाडपर्वमा माइती–मावली जान नदिने, घरबाट बाहिर निस्कन नदिने र मोबाइल खोसेर राख्ने गरेका थिए । ‘आफ्नै घरमा कैदी जीवन सरह बसी छोराछोरी सम्हाली विपक्षीको रातदिनको अत्याचार सहेर बसिरहेको अवस्था थियो,’ उनले फिराद पत्रमा भनेकी छिन्।
२०८० साल भदौ २९ गते तिजको दिन । नम्रताको भाई उनलाई लिन आएको बेला बालेश्वरले ‘अनेकौं प्रकारका आमाचकारी गालीगलौज’ गरेर भाईलाई ‘फेरि यो घरमा फर्की आएमा ज्यानै लिने’ धम्की दिएका थिए । त्यसपछि केही दिन बित्दा बालेश्वर घरबाट बाहिर निस्किएको मौका पाएर नम्रता असोज ३ गते घरबाट निस्केर माइतीको शरणमा पुगेकी थिइन् ।
त्यसपछि भएको घटना झनै चर्को थियो । १७ फागुन २०८० मा विराटनगर १ मा बाटो हिंडिरहेको अवस्थामा बालेश्वरले नम्रतालाई ‘अश्लील अपशब्द प्रयोग गरेर गाली गलौज गर्दै निर्घात कुटपिट’ गरेका थिए । ‘बाटोमा हिंड्ने व्यक्तिहरूले छुट्याएको कारणले ज्यान जोगिएको’ नम्रताले फिराद पत्रमा उल्लेख गरेकी छिन् ।
नम्रताले विभिन्न मितिमा बालेश्वरविरुद्ध मुद्दा दायर गरेकी छिन् । सुरुमा ५ असार २०८० मा अंश र सम्बन्ध विच्छेद मुद्दा हालेकी थिइन् । त्यसपछि ७ असोज २०८० मा मानाचामल मुद्दा लगाइन् ।  २४ फागुन २०८० मा घरेलु हिंसामा मुद्दा दर्ता गराइन् । यी  मुद्दा लगाएपछि बालेश्वरले नम्रतालाई ‘मुद्दा फिर्ता लिनुपर्ने र नलिए ज्यान मार्ने धम्की’ दिएका थिए ।
श्रीमती र छोरीलाई ‘जालसाज’ भन्दै उल्टो मुद्दा बालेश्वरले नम्रता र १७ वर्षीया जेठी छोरीमाथि जालसाजको मुद्दा दर्ता गरेका छन् । उनले छोरी आफूसँग नजन्मिएको भन्दै झुक्याएर जन्मदर्ता गराएको आरोप लगाएका छन् । एकातिर श्रीमतीमाथि घरेलु हिंसा, गालीगलौज, अंश नदिने अडान; अर्कोतिर छोरीलाई समेत लाञ्छना लगाएर अदालत तान्ने काम उनले गरेका छन् ।
बालेश्वरले आफ्नी श्रीमती र जेठी छोरीविरुद्ध जालसाज मुद्दा दायर गर्नुको कारण उनले जेठी छोरी आफ्नो नभएको र झुक्याएर जन्मदर्ता बनाएको दाबी गरेका छन् । उनीहरुका दुई छोरी र एक छोरा रहेका छन् ।
अहिले पाँचवटै मुद्दा मोरङ अदालतमा विचाराधीन रहेका छन् । आगामी जेठ ३० गते वादी र प्रतिवादीलाई तारेख दिइएको छ । नम्रताले मुलुकी दीवानी संहिता २०७४ का विभिन्न दफाहरूको आधारमा सम्पत्तिको भागबण्डा माग गर्दै सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर