विराटनगर, २२ चैत / स्थानीय तहको निर्वाचनमा महिलाको अधिक सहभागिता बढाउन सबै महिलाहरु एक भएर अगाडि बढ्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा गरेको स्थानीय तहको निर्वाचन र महिला सहभागिता बिषयक गोष्ठीमा बोल्दै सहभागीहरुले यस्तो बताएका हुन् ।
अनेमसंघकी केन्द्रिय सदस्य यशोदा अधिकारीले महिलाहरु नेतृत्व लिन अग्रसर रहेको भन्दै पार्टीले पनि सोही अनुसार अवसर दिनु पर्ने बताइन् । उनले अवसर दिए महिलाहरु वडाध्यक्ष, मेयर, उपमेयर हाक्न सक्ने बताइन् ।
महिलाहरुलाई अहिले पनि पार्टीहरुले सक्षम छैनन् भन्दै तल्लो पद मात्र दिइने गरेकोले अब भने स्थानीय निकायको निर्वाचनमा दुई जना महिलाहरुलाई अनिवार्य उठाउने व्यवस्था गरेको बताइन् ।
राजनीतिमा आउने महिलाहरुले समय सापेक्ष आफूहरुलाई सक्षम बनाएर अगाडि बढिसकेकाले अवसर पनि दिनु पर्नेमा कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
महिलाहरुलाई ३३ प्रतिशत अनिवार्य सहभागिता गराउने भनिए पनि अवसर नदिएको पाइएको कार्यक्रमका सहभागिको गुनासो थियो ।