AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरकी बेबिना दाहालले गोबरबाट विभिन्न पुजाको सामग्री बनाएर बजारीकरण गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०८१, शनिबार ०८:२९
1.81k
Shares
विराटनगर / हिन्दू धर्ममा गाईलाई गौमाता मान्छन् । त्यस्तै गाईको गोबर र गोमुत्र दुवै पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीको यही आस्था र आवश्यकतालाई बुझेर विराटनगर–५ की उद्यमी ३२ वर्षीया बेबिना दाहालले गोबरबाट विभिन्न सामग्री बनाएर बजारीकरण गरिरहेकी छिन् ।

नवप्रवर्तक उद्यमीको रुपमा दाहालले गोबरबाट दियो, श्रीयन्त्र, जलपात्र, भगवानको पाउ, माला, मूर्तिलगायत दर्जनौ प्रकारकी सामान बनाएकी छिन् । यस्तो सामान गाईको गोबरबाट बनेका हुनाले धार्मिक रुपमा त्यसै शुद्ध हुने दाहालले बताइन् ।

सामान्यतया गाईको गोबर घरको शुद्धीकरणका लागि लिपपोत गर्न, बायोग्यास उत्पादन गर्न र जैविक मल बनाउन प्रयोग गरिन्छ । तर, सोही गोबरबाट विभिन्न धार्मिक सामग्री–भगवानका मूर्ति, दियो, लक्ष्मीका पाउ, श्रीयन्त्र, जलपात्र, माला, अगरबत्ती आदिसमेत बनाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ ।

उनले उत्पादन गरेको सामग्री पटक–पटक प्रयोग गर्न मिल्ने र गोबरको कुनै दुर्गन्ध नआउने उनले दाबी छ । यी सामग्री पहिलो पटक बिक्रीका लागि उद्योग संगठन मोरङको आयोजनामा माघ १२ देखि सञ्चालित विराट एक्स्पो २०२५ मा राखिएको छ । प्रतिगोटा न्यूनतम १० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म मूल्य पर्ने यी सामग्री एक्स्पोमा राखिएको स्टलमा उपलब्ध छन् । दैनिक ५–६ हजार रुपैयाँ बराबरको बिक्री भइरहेको उनी बताउँछिन् ।

गाईको गोबरबाट बनेका यी सामग्रीको उत्पादन तथा बजारीकरण गर्न उनले विराटनगर–५, दामबन्दीमा करिब ७ लाख रुपैयाँको लागतमा ‘उन्नत गोठ प्रालि’ कम्पनी खोलेकी छन् । यस कम्पनीमार्फत उनीसहित १० जना महिलाले रोजगारी पाएको दाहालले बताइन् ।

बेबिनाले दूध नदिने गाईको संरक्षणका लागि गोबरबाट धार्मिक सामग्री उत्पादन सुरु गरेको बताइन् । ‘गाईले दूध दिँदासम्म राम्रै हेरचाह गरिन्छ तर दूध दिन छाडेपछि ती गाई बेसहारा बनाइन्छन,’ उनले भनिन्, ‘त्यस्ता गाईको संरक्षणका लागि मैले गोबरबाट सामग्री उत्पादन थालेको हुँ ।’

बेबिनालाई उनका बैंकर श्रीमान् निश्चल अधिकारीले पनि सघाइरहेका छन् । एक फरक खालको व्यवसायको रुपमा श्रीमान–श्रीमती मिलेरै यो काम गरिरहेको अधिकारी बताउँछन् । ‘हामीले एउटा फरक कामको थालनी गरौं न भनेर गोबरमा हात हालेका हौं’ अधिकारीले भने । उनका अनुसार, जुनसुकै प्रकारका गाईको गोबरबाट भनेजस्तो सामग्री चाहिँ बन्दैन ।

अधिकारी भन्छन् अफिसको समयबाहेक म मेरो श्रीमतीको व्यवसायलाई सघाउँने गरेको बताए । अहिले विराट एक्सपोमा उनी श्रीमतीलाई साथ दिइरहेका छन् ।

उनीहरूले गोबरलाई धुलो बनाएर प्याकेजिङ पनि गरेका छन् । धुलो गोबरको प्याकेट उनीहरूले शहरी क्षेत्रका ग्राहकलाई लक्षित गरेर बनाएका हुन् । गोबरको धुलो पानीमा घोलेर लिपपोत गरे गोबरकै रङ र गोबरकै गन्ध दिने उनीहरूको भनाइ छ । ‘शहर बजारमा बस्नेहरूले पूजापाठ गर्नुपर्दा गोबरले लिपेर ठाउँ यसो शुद्ध बनाउँ न भन्दा गोबर खोज्न कहाँ जाने ?’ अधिकारी भन्छन्, ‘अब हाम्रो उन्नत गोठको धुलो गोबर घरमा राखिराख्ने, आवश्यक पर्नासाथ थोरै पानी हालेर लिपपोत गर्न सकिने दाहालले बताइन् ।’

गोबरको धुलो लामो समयसम्म राख्दा पनि गुण वा गन्ध कायमै रहने भएकाले गंगाजल राखेझैं गोबरको धुलो पनि राख्न सकिने उनले बताइन् । धुलो गोबरको मूल्य प्रति एक पाउ २५ रुपैयाँ तोकिएको छ ।

उन्नत गोठ प्रालिले गोबर संकलनका लागि विराटनगर–५ का ८ स्थानमा केन्द्र स्थापना गरेको छ । कम्पनीले गाईको गोबर प्रतिकिलो २ देखि ३ रुपैयाँमा किन्ने गरेको छ । हाल दैनिक ५० किलो गोबर संकलन भइरहेको दाहालले बताइन् ।

‘उत्पादन थालेको करिव १०–१२ दिन मात्रै भएको छ तर माग अत्यधिक भएकाले हामीले गोबर संकलन केन्द्र थप्नुपर्ने अवस्था आएको छ,’ दाहालले भनिन् । उनका अनुसार गोबरबाट बनेका यी सामग्री पानीले गल्ने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर