विराटनगर, ९ चेत । जैन धर्म परम्परा अनुसार साध्वीको दीक्षा लिएर गृहत्याग गर्न लागेकी विराटनगर निवासी सुधा सेठियालाई शोभा यात्रासहित नगर परिक्रमा गराइएको छ ।
सेठियालाई आज बिहान बग्घीमा राखेर शोभा यात्रासहित नगरपरिक्रमा गराइएको हो । स्थानीय अतिथि सदनबाट निकालिएको शोभा यात्राका सहभागीले गोल्छामोड, जिल्ला प्रशासन कार्यालय, अस्पतालरोडबाट जलजलाचोक हुँदै अतिथि सदनमा पुगेर समापन भएको थियो ।
शोभा यात्रामा जैन धर्मावलम्बीसहित विभिन्न सम्प्रदायका माडवाडी समुदायको सहभागिता रहेको थियो ।
विराटनगर मेनरोडकी ३१ वर्षीया सुधा आउँदो अप्रिल ३१ तारिखका दिन जैन धर्म परम्पराअनुसार साध्वीको दीक्षा लिन लागेकी हुन् । मेधावी छात्रा सुधा पूर्वाञ्चल विश्वविद्यालय एमबीएमा गोल्ड मेडलिस्ट हुन् । साध्वीको दीक्षा लिएपछि सुधाले आफन्त र घरसहित सम्पूर्ण भौतिक सुख सुविधाको परित्याग गरेर जैन धर्मको प्रचार प्रसार गर्दै साधु सन्तको समूहमा पैदल यात्रामा निस्कने छिन् ।
सुधाले यसअघिनै साधु सन्तको समूहमा तीन हजार एकसय किलोमिटरको पैदल यात्रा गरिसकेकी छिन् भने धार्मिक परीक्षा जैन सिद्धान्त विशारद उतीर्ण गरिसकेकी छिन् । सुधाको सम्मानमा आजै अतिथि सदनमा अभिनन्दन समारोहको समेत आयोजना गरिएको जनाइएको छ ।