AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबार एमाले र राप्रपाका ६० वर्षभन्दा माथिका सांसदहरु उपस्थित नहुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ भाद्र २०८०, आईतवार १८:२६
450
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा नेकपा एमालेका जेष्ठ सदस्यहरु उपस्थित नहुने भएका छन् ।

साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थापाले विश्वासको मत लिने दिनको बैठकमा प्रदेशसभामा जेष्ठ सदस्य रहेका ६० वर्षभन्दा माथिका एमालेका ७ जना सांसदहरु उपस्थित नहुने भएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनसक्ने चर्चा चलिरहेको बेला एमालेका जेष्ठ सदस्यहरु अनुपस्थित हुने भएका हुन् । एमालेका सांसदहरु रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवि ढकाल (६६), खड्गबहादुर बस्नेत (६७), किशोरचन्द्र दुलाल (६५) र ज्ञानेन्द्र सुवेदी (६४) ले भोलिको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दिएका छन् ।

उपस्थित नहुने कारणमा उनीहरुले ‘घरयासी समस्या’ लेखेका छन् । प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने योजना अनुसार उनीहरु प्रदेशसभामा उपस्थित नहुने भएका हुन् । प्रदेशसभामा सभामुख र उपसभामुखको नहुँदा जेष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ ।

तर, प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा भने जेष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ । एमालेका जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएकोले उपसभामुख सिर्जना दनुवारको आउने संभावना देखिएको छ ।

यद्यपी एमाले स्रोत भने उपसभामुखले राजीनामा दिने नभई अनुपस्थित हुने दावी गर्छ । उपसभामुखले राजीनामा नदिएकोे अवस्थामा जेष्ठ सदस्यहरुलाई अनुपस्थित गराउनुको कारण भने फ्लोर क्रसको त्रास रहेको छ । जेष्ठ सदस्यमध्ये केहिले फ्लोर क्रस गर्नसक्ने त्रास देखिएकोले सबैलाई अनुपस्थित हुन निर्देशन दिएको एमाले स्रोतले जनाएको छ ।

प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली काँग्रेसका गयानन्द मण्डललाई यसअघि गठबन्धनले राज्यमन्त्री बनाइसकेको छ । त्यसपछि सत्तारुढ गठबन्धनका जेष्ठ सदस्य उद्धब थापा (६४) मुख्यमन्त्री छन् भने जेष्ठताको तेह्रौ नम्बरमा काँग्रेसका सांसद अमृतकुमार अर्याल (६३) छन् ।

एमालेबाहेक राप्रपाका अम्बरबहादुर विष्ट (६८) र गोपालबहादुर विश्वकर्मा (६५) पनि भोलिको बैठकमा उपस्थित नहुने बताइएको छ । राप्रपाले आफ्ना सबै सांसदलाई बैठकमा अनुपस्थित हुन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर