पूर्वाञ्चल खबर
आज विज्ञप्ती जारी गर्दै ट्रेड यूनियन काँग्रेसका महासचिव अजयकुमार राईले एकल ढंगबाट सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय तोकेकोमा आपत्ती जनाएका छन् ।
महासचिव राईले श्रम ऐनको मुलमर्म अनुरुप सरकार, उद्योगी र ट्रेड यूनियनकर्मीबीच छलफल र सहमतिपछि पारिश्रमिक निर्धारण गर्नुपर्नेमा सरकार एकल ढंगबाट अघि बढेको बताए । उनले भने, ‘हामीले सरकारसंग श्रमिकको पारिश्रमिक २५ हजार रुपैया माग गर्दै आएका छौ । तर एकाएक सरकारले १७ हजार ३ सय पारिश्रमिक तोकेर त्रुटिपूर्ण निर्णय गरेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा पारिश्रमिक निर्धारण हुनुपर्ने थियो । तर सरकार एकलढंगबाट अघि बढेको छ ।’
तीन पक्षसहितको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकार प्रत्येक २ वर्षमा पारिश्रमिक निर्धारण गर्नुपर्ने उनको भनाई छ । उनले भने, अहिलेको बजार भाउ, आकासिएको मुल्य बृद्धिलाई लक्षित गर्दै ट्रेड युनियनले श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार रुपैया तोक्न आग्रह गरेका हौ ।
त्यसैगरि, चिया बगानमा कार्यरत श्रमिकको हकमा समेत सरकारले तोकेको पारिश्रमिकमा युनियनले आपत्ती जनाएको छ । सरकारले न्यूनतम पारिश्रमिक १५ हजार रुपैयामा २ हजार ३ सय रुपैया बृद्धि गरि १७ हजार ३ सय पुराएको छ । ट्रेड युनियनले वितगमा श्रमिकका लागि तोकिएको पारिश्रमिक अनिवार्य रुपमा लागु गर्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । टे«ड युनियनले श्रमिकको जीवनयापन सहज बनाउन रासन कार्ड र सहुलियत कार्डको तत्काल ब्यवस्था गर्न माग गरेको छ ।