पूर्वाञ्चल खबर
आज दिउँसो विराटनगर महानगरपालिका– १० सन्सारीमाइस्थान नजिकै विराटनगर महानगरपालिका–८ का २२ वर्षीय महमद हलिममाथि तरवार प्रहार गरेका हुन् । तरवार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । सन्सारीमाईस्थानबाट पूर्वतर्फ उनीमाथि दिउँसो तरबारले प्रहार गरिएको प्रहरीले जनाएको छ । हलिमको दुवै हातमा गहिरो चोट लागेको छ ।
उपचारका लागि उनलाई सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । न्यूरोले थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । तरवार प्रहारको कारण घाइतेको दुवै हातको नशा काटिएकोले भ्याकुलर सर्जरी गरेर जोडिनुपर्ने भएकोले चिकित्सकले नोबेल पढाएको हो ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेन, २२ वर्षीया अमन कुरेसि, विराटनगर ११ जनपथ टोलका २६ वर्षीया कुशल पाण्डे , विराटनगरको सौरचियाका सदाब अन्सारीको समूहले तरवार प्रहार गरेको प्रहरीले जनाएको छ । ‘एउटा मोटसाइकलमा तीन जना चढेर आएका थिए । तीन जना मध्ये मोटसाइकलको बीचमा बसेका समीर हुसेनले तरवार बोकेका थिए । तेही तरबारले महमद हलिममाथि लर्डबुद्ध कलेज अगाडी चिया पसलमा प्रहार भयो,’ घटनाको प्रत्यक्षदर्शीले भने, ‘तरवार प्रहार गरेर उनीहरु फरार भए ।’
मुस्लिम सामुदायको मोहरम पर्वको भएको विवादमा लिएर महमद हलिममाथि तरवार प्रहार भएको बुझिएको छ । तरवार प्रहार गर्नेहरु फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक पप्पु नायकले बताए । ‘घटनामा संलग्नको खोजी कार्य तिव्र बनाएको छ,’ उनले भने ।