विराटनगर, ३ चैत / धरानमा केन्द्रीय कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंकको १२ औं शाखा विराटनगरमा स्थापना गरिएको छ ।
दश वर्षअघि धरानमा केन्द्रीय कार्यालय स्थापना गरी पूर्वका विभिन्न जिल्लामा वित्तीय सेवा पु¥याउँदै आएको बैंकले विराटनगरको मेनरोडस्थित अतिथि सदन छेउमा शाखा विस्तार गरेको हो । शाखाको मोरङ व्यापार संघका अध्यक्षसमेत रहेका सांसद पवनकुमार सारडा र बैंक सञ्चालक समितिका अध्यक्ष अजितनारायणसिंह थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । १ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजीबाट सुरु भएको बैंकको हाल ३८ करोड चुक्ता पुँजी पुगेको छ ।
आगामी असारसम्ममा ५० करोड रुपैयाँ चुक्ता पुँजी पु¥याउने लक्ष्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले जानकारी दिए । बैंकले हाल २ अर्ब ४५ करोड निक्षेप संकलन गरी २ अर्ब २५ करोड कर्जा प्रवाह गरेको छ ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति सदस्य सरोज श्रेष्ठ, पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, विराट व्यापार संघका उपाध्यक्ष जितेन्द्र गोल्छालगायतले बैंकिङ सेवालाई ग्रामीण क्षेत्रसम्म पु¥याउनु पर्नेमा जोड दिए ।