सुनसरी, २ चैत /सुनसरीको इटहरी–१२ खनारमा भेटिएको एच–५ एन–८ नामक बर्डफ्लुको जिवाणु नेपालमै पहिलोपटक फेला परेकाले समेत थप सर्तकतासहितको निगरानी अघि बढाउन लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीको अध्यक्षतमा बसेको जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समिति सुनसरीको बैठकले भारतसँग सीमा जोडिएका खुला नाकाबाट हुने पंक्षिजन्य ओसारपसारमा कडाई र चेकजाँच बढाउने निर्णय गरेको हो । एच–५एन–८ नामक बर्डफ्लुको जिवाणु केही महिनाअघि भारतमा देखा परेकाले खुला सीमाबाट हुने पंक्षिजन्य तस्करी र ओसारपसार उपर निगरानी बढाउने समितिको बैठकले निर्णय गरेको हो ।
खनारको पाथिभरा पोल्ट्री फममा बर्डफ्लु भेटिँदा ६ हजार बढी कुखुरा नष्ट गरिएका थिए । यसैबीच बर्डफ्लुका कारण संरक्षित पंक्षिहरु मरेपछि पर्यटकको प्रवेशमा रोक लगाइएको तालतलैया क्षेत्रमा आजबाट प्रवेश खुला गरिएको छ । यद्यपि पंक्षि राखिएको खोर क्षेत्रमा लगाइएको प्रतिवन्ध भने वैशाख पहिलो सातासम्म कायमै राखिएको छ ।