सन्दर्भ मुटु दिवस २९ तारिख, सेप्टेम्बर स्वस्थ मुटु स्वास्थ्यजीवन

खबर पूर्वाञ्चल, १३ आश्विन २०७७, मंगलवार ०६:३१

रामचन्द्र वाग्ले
विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रयासमा सन् १९९९ बाट विश्व मुटु दिवस मनाउने निर्णय गरिएको हो ।

सन् २००० देखि २०११ सम्म यो दिवस सेप्टेम्बर महिनाको अन्तिम आइतबारका दिन मनाउदै आइएको भए पनि सन् २०१२ देखि सेप्टेम्बर २९ तारिखका दिन मनाउदै आइएको छ । यो दिवस मुटु र कार्डियोभास्कुलर रोगका बारेमा जनचेतना जगाउने र रोग न्यूनिकरण गर्ने उद्देश्यले मनाउन थालिएको हो । हाल विश्वका एक सय २० भन्दा बढी देशहरुले यो दिवस मनाउछन् । यो दिवसका दिन विभिन्न कार्यक्रम तथा क्रियाकलापमा भाग लिएर, पोष्टरको माध्यमबाट मुटु रोेग र स्ट्रोकका बारेमा जनचेतना फैलाउने गरिन्छ ।

मुटुलाई मन र हृदय भनेर पनि बुझिन्छ । यो मानव शरीरको प्रमुख जीवनदायी अंग हो । यसलाई शरीरको राजा मानिन्छ । यो मानवलगायत अन्य मेरुदण्डीय जीवको शरीरको एक महत्वपूर्ण अङ्ग हो । वैज्ञानिक भाषमा भन्नुपर्दा मानव मुटु फुल्ने र खुम्चिने प्रक्रियाको दुई वटा पम्प एउटै ठाउँमा जोडिएको साधारण यन्त्र हो । मुटुको दायाँतिरका दुई वटा कोठा (दाया अरिकल र दाया भेन्ट्रिकल) मा अक्सिजन कम भएको निलो (डिअक्सिजिनेटेड) रगत बग्दछ । त्यस्तै बाया अरिकल र बाया भेन्ट्रिकलमा अक्सिजनले भरिपूर्ण रगत बन्ने र बग्ने गर्दछ । मुटुले शरीरका हरेक भाग चलायमान राख्न मदत गर्छ । यसले शरीरको हरेक कोषमा रगतको सहायताले अक्सिजन पु¥याउने अत्यन्तै महत्वपूर्ण कार्य गर्दछ । उक्त अक्सिजनले गर्दा नै शरीरका हरेक कोष जीवित रहन्छन् ।

एक स्वस्थ्य मानिसको मुटु एक मिनेटमा ७४ पटक धड्किन्छ । आधुनिक चिकित्सा विज्ञानका अनुसार एक मिनेटमा ६० देखि एक सय पटकसम्म मुटु धड्किनुलाई सामान्य मानिन्छ । शरीरका विभिन्न अंगबाट अशुद्ध रगत शिराको माध्यमबाट मुटुमा आउँछ । त्यसपछि मुटुले रगत शुद्ध पारी धमनी र कोशिकाको सहायताले शरीरका विभिन्न भागसम्म रगत प्रवाह गर्छ ।

मुटुसँग सम्बन्धित सबै रोगलाई समग्रमा कार्डियोभास्कुलर डिजिज भनिन्छ । यस रोगमा मुटु र रक्तनलीसँग सम्बन्धित थुप्रै रोग तथा डिसअर्डर पर्छन् । जस्तै ः हर्ट एट्याक, स्ट्रोक, हर्ट फेल, बाथ मुटु रोग(रिमाटिक मुटु रोग), कोरोनरी हर्ट डिजिज, सेरेब्रोभास्कुलर रोगआदि । हर्ट एट्याक भनेको मुटुमा रगतको प्रवाहमा रुकावट हुनु हो ।कोरोनरी हर्ट डिजिजले गर्दा हर्ट एट्याक हुन्छ । स्ट्रोक भनेको रक्तनलीबाट हुने घात हो । हर्टफेल भनेको मुटुले काम गर्न छोड्नु हो । त्यस्तै बाथ मुटु रोग भनेको प्रायः गरेर केटाकेटीलाई लाग्नेमुटु रोग हो । पाँचमध्ये चार मृत्यु हर्ट एट्याक र स्ट्रोकका कारण हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस्ता मृत्युमध्ये एक तिहाई मृत्यु ७० वर्ष नपुग्दै हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कार्डियोभास्कुलर रोगका कारणले विश्वभरीमा बर्सेनी एक करोड ७९ लाख मानिसको ज्यान जान्छ । यो विश्वव्यापी मृत्युको ३१ प्रतिशत हो । उक्त संगठनका अनुसार मुटु रोेग र स्ट्रोकबाट मर्ने चारमध्ये तीन मानिस निम्न तथा मध्यम आयआर्जन भएका देशका बासिन्दा हुन् । यो रोगबाट महिला र पुरुष दुबै उत्तिकै संव्रmमित हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य संगठन २०१५ का अनुसार ८० प्रतिशत अपरिपक्व मुटु रोग रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघ २०१९ का अनुसार विश्वको जनसंख्याको करिब एक तिहाई जनसंख्या अर्थात दुई अरब मानिसहरु मुटु रोगको औषधीबाट वञ्चित छन् । उक्त महासंघका अनुसार हृदय रोग मृत्यु र अपाङ्गताको प्रमुख कारण भएता पनि यसको औषधीको उपलब्धता विश्वभर गर्नुपर्छ भन्ने कुरा ठुलो वैश्विक एजेन्डामा समावेश नै गरिएको छैन् ।

शिक्षा र स्वास्थ्य प्रतिको चेतनाको कमीले गर्दा विश्वभर हृदय रोगीहरुको संख्या उच्च छ । यसका साथै सामाजिक र आर्थिक कारणले गर्दा मुटु रोगको औषधीमा मानिसहरुको सहज पहुच छैन् । विश्व मुटु महासंघ २०१७ अनुसार कार्डियोभास्कुलर रोगका कारण मर्ने मानिसहरुको संख्या एक करोड ७५ लाखबाट बढे्र सन् २०३० सालसम्ममा दुई करोड तीस लाख पुग्ने अनुमान गरिएको छ । उक्त महासंघको २०१९ को तथ्याङ्क अनुसार मुटु रोग लागेर मानिस मर्नुमा २५ प्रतिशत जिम्मेवार वायुप्रदुषण रहेको छ ।

विश्व मुटु महासंघ २०२० का अनुसार हार्ट फेलियर (मुटु फेल हुने समस्या) बाट विश्वका करिब छ करोड चालिस लाख मानिस पीडित छन् । यो रोग पत्ता लागेको पाँच वर्षभित्र करिब आधा बिरामीहरु मर्ने गरेको पाइएको छ । एक अध्ययनका अनुसार नेपालमा बस्ने धेरै नेपालीको मृत्यु इस्केमिक हर्ट डिजिजका कारण हुन्छ । यो रोग लागेको खण्डमा मुटुको धमनी साघुरो हुन्छ जसले गर्दा धेरै रगत धमनीमा नै जम्मा हुन्छ । यसले गर्दा बिस्तारै रगतको आपूर्ति रोकिन्छ र रक्तसञ्चार हुन नपाई बिरामीको मृत्यु हुन्छ । यसलाई ‘कोरोनरी हर्ट डिजिज’ पनि भनिन्छ । यसै गरी नेपालीलाई मार्ने दोस्रो सबैभन्दा ठुलो रोग दमका रुपमा परिचित ‘क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज’ हो ।

सन् २०१७ को तथ्याङ्क अनुसार नेपालको कुल मृत्युको ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएको थियो । त्यसमा सबैभन्दा प्रमुख कारण मुटु रोग १६.४ प्रतिशत र दम रोग ९.८ प्रतिशत थियो । मुटु रोग विशेषज्ञहरुका अनुसार हाल नेपालमा नसर्ने रोग अन्तर्गत ३० प्रतिशत मृत्यु मुटुरोग र रक्तनलीको रोगले गर्दा हुने गर्दछ । नेपाल हृदय प्रतिष्ठानको पछिल्लो तथ्यांकअनुसार मुटु रोगमध्ये पनि कोरोनरी हर्ट डिजिजका कारण बर्सेनी १८.७२ प्रतिशत अर्थात करिब तीस हजार ५५९ मानिस मर्ने गर्दछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हृदय रोगलाई ट्रिगर गर्ने प्रमुख कारक तत्वहरुमा सुर्तीजन्य प्रयोग, अस्वस्थ आहार, शारीरिक निष्व्रिmयता र रक्सीको हानीकारक प्रयोग आदि रहेका छन् । यसका साथै आनुवंशिक पृष्ठभूमि र विशिष्ट भौगोलिक सामग्रीले पनि मुटु रोगको जोखिम बढाउन सक्छ । यस्ता कारक तत्वहरुले गर्दा मानिसमा रक्तचाप बढ्ने, रक्त ग्लुकोजको मात्रा बढ्ने, अधिक तौल र मोटाइ हुने समस्या देखापर्दछ । यो स्वास्थ्य र स्वस्थ मुटु दुबैको लागि अत्यन्तै हानीकारक हुन्छ । मुटुको धडकनमा गडबडी भएमा यसको चाललाई नियमित गर्न ‘पेसमेकर’ राख्ने गरिन्छ ।
मुटु स्वस्थ राख्न सजिलो, सुलभ र सस्तो छ तर यसको उपचार गर्न निकै खर्चिलो र जटिल छ । सर्वसाधारणलाई मुटुको महँगो उपचार खर्च धान्न निकै गाह्रो छ । त्यसैले प्रसिद्ध अंग्रजी भनाइअनुसार ‘प्रिभेन्सन इज बेट्टर द्यान क्यर’ अर्थात रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ । सन्तुलित र स्वस्थ भोजन ग्रहण गरेर, नियमित शारीरिक व्यायाम तथा व्रिmयाकलाप गरेर, सुर्ती तथा मदिराजन्य वस्तुको लत वा सेवन त्यागेर हृदय रोगबाट बच्न सकिन्छ । यसका साथै यसबाट बच्न नियमित स्वास्थ्य परिक्षण गराएर रक्तचाप, कोलेस्ट्रोल, मधुमेह आदि सन्तुलनमा छ छैन भनेर जानकारी लिन र सन्तुलनमा राख्न अति आवश्यक छ ।

ग्लोबल हार्ट इनिसिएटिभको माध्यमबाट विश्व स्वास्थ्य संगठनले विश्वव्यापी सरकारहरुलाई कार्डियोभास्कुलर रोग रोकथाम र नियन्त्रणका लागि तीनवटा प्राविधिक प्याकेजहरु मार्फत प्रयास गर्न सहयोग गरिरहेको छ । पहिलो प्याकेज रहेको छ – सुर्तीजन्य नियन्त्रणका लागि ‘एमपावर’ । त्यस्तै अन्य प्याकेजमा नुन घटाउनका लागि ‘एसएचकेई’ र प्राथमिक स्वास्थ्य सेवामा कार्डियोभास्कुलर रोग व्यवस्थापनको सुदृढीकरणका लागि ‘मुटु अर्थात हृदय प्याकेज’ छन् ।
विश्व मुटु महासंघले मुटु रोग र स्ट्रोकबाट ग्रसित विश्वभरका मानिसलाई बचाएर लामो र धेरै राम्रो जीवन प्रदान गर्ने लक्ष्य राखेको छ । यसका साथै मुटु रोगका औषधीहरु र स्वास्थ्य सेवामा सहज पहुच बनाउने लक्ष्य पनि राखेको छ । यसका साथ साथै मुटु रोेग र स्ट्रोकको रोकथाम र नियन्त्रणका लागि डटेर लागिपरेको छ ।नेपालमा पनि राज्यले ठोस नीति बनाएर,त्यसलाई कार्यान्वयन गरेर र जनचेतना जगाएर मुटु रोगबाट बच्न तथा यसलाई न्यूनिकरण गर्न अत्यन्त जरुरी छ ।(लेखकः स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणी शास्त्र विभागका एमएस्सीका शोधकर्ता हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५