AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेयरद्वारा विराट राजाको दरबार क्षेत्रमा निर्माणाधीन संरचनाको अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०८०, बिहीबार १३:२०
171
Shares
विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रमा रहेको निर्माणाधीन किचकबध पोखरीको अनुगमन गर्नु भएको छ ।

आज मेयर कोइरालाले पोखरीको निर्माणको अवस्थाका विषयमा स्थलगत अनुगमनसँगै ठेकेदार पक्षसित हालसम्मको निर्माणको अवस्थाका विषयमा जानकारी लिनुभयो । चालु आर्थिक वर्षका लागि विराट राजाको दरबार क्षेत्रका लागि महानगरले १ करोड रुपैयाँ छुट्याएको थियो । तर निर्माण कम्पनी देवी छिन्नमस्ता कन्ट्रक्सनले ७० लाख ६५ हजार ६२५ रुपैयाँमा ठेक्का पारेको थियो । अनुगमनका क्रममा मेयर कोइरालाले तोकिएको मितिभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए । महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर ठूला योजनाहरु सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

दक्षिणी क्षेत्रमा विराट राजाको दरबारसँगै रानीपोखरी र मन्ठापोखरीको पुननिर्माणसँगै सौन्दर्यकरणसमेत भइरहेको मेयर कोइरालाले बताए ।

धार्मिक र सांस्कृतिक महत्व बोकेको विराट राजाको दरबारसहित तीनवटै पोखरीको निर्माण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने उनको भनाइ थियो ।

१६ करोड जनसंख्या भएको विहारसँग जोडिएको क्षेत्र भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको मेयर कोइरालाको भनाइ थियो । “महानगरको नेतृत्वमा हामी आइसकेपछि दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” मेयर कोइरालाले भन्नुभयो, “चालु अवस्थामा रहेका योजनाहरु निर्माण सम्पन्न भएपछि पर्यटकको आगमन बढ्ने र त्यसले यस क्षेत्रमा आर्थिक चलायमानसमेत बढ्नेछ ।”

महानगरले दक्षिणी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकोमा स्थानीयसमेत खुशी देखिएका छन् । स्थानीय नित्यान्द यादवले महानगरको हालको नेतृत्वले अत्यन्तै राम्रो काम गरिरहेको भन्दै प्रशंसा गरे । यादवले भने, “महानगरपालिकाभित्र भएर पनि हामीमाथि विगतमा विभेद भएको थियो । अब भने महानगरले दक्षिणी क्षेत्रलाई निकै माया गरेको महसुस गरेका छौं ।”

निर्माण कम्पनीका रञ्जित झाले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने गरी रातदिन नभनिकन काम गरिरहेको दाबी गरे । उनले गुणस्तरसँगै कामसमेत अन्तर्राष्ट्रियस्तरमा भइरहेको बताए । निर्माणाधीन पोखरीको पर्खाल लगाउने काम सम्पन्न भइसकेको छ । पोखरी वरिपरि प्याराफिट, आकर्षक बगैंचा, फूलबारी, विश्रामस्थल, कटेज, कलात्मक प्रवेशद्वारलगायत निर्माण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर