खबर पूर्वाञ्चल
विराटनगर जुट मिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ क्रिकेट क्लबलाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गर्दै दिल्ली विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको हो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २ सय १७ रनको विशाल स्कोर बनाएको थियो । दिल्लीका रन्जित सिंहले ६३ रन जोड्दा अभिरुप गुप्ता र रोहित त्रिपालीटीले समान ४९–४९ रन जोडे ।
विरगञ्जका नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडी रामनरेश गिरी, दिपेश श्रेष्ठ र हरि शंकर साहले समान २–२ विकेट लिए ।
दिल्लीले दिएको २ सय १८ रनको विशाल लक्ष्य पछ्याएको विरगञ्जले १२ दशमलव ५ बलमा सवै विकेट गुमाई ९४ रनमा सिमित भयो । विरगञ्जका असिम अन्सारीले २९ रन बनाउँदा शंकर साहले १३ रन र सुमन सुनवारले १२ रनको योगदान दिए । दिल्लीका मोहित पाण्डेले सर्वाधिक ५ विकेट लिए । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा बजाज युथ क्रिकेट क्लब सप्तरी ११ लाई ५ विकेटले पराजित गर्दै ओसिस काठमाण्डौ क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको छ ।
सप्तरीले दिएको १ सय २९ रनको विजय लक्ष्य काठमाण्डौंले १५ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । काठमाण्डौका सम्राट भुसालले अविजित ३६ रन बनाउँदा सुजन थपलियाले २४ रन दिए । सप्तरीका अनिल यादव, अभिषेक कार्की, पप्पु यादवले समान १÷१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १ सय २८ रन बनाएको थियो । सप्तरीका अमित यादवले २७ रन बनाउँदा अनिल यादवले २३ रन र पप्पु यादवले २२ रनको योगदान दिए ।
काठमाण्डौंका गौतम केसीले ३ विकेट लिँदा आदिल खानले २ विकेट र सुमित श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच काठमाण्डौंका गौतम केसी घोषित भए ।
भोलीको पहिलो खेल घरेलु टिम मिल्स क्रिकेट क्लब विराटनगर रानी र दिल्ली युनाइटेड क्रिकेट क्लब बिच हुनेछ । दोस्रो खेल बैशाली क्रिकेट क्लब पटना र नरपथगन्ज क्रिकेट क्लब विहार बीच हुनेछ ।