पूर्वाञ्चल खबर
भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रबार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० वर्षीय मस्जित आलम, सोही ठाउँका २० वर्षीय मो.अरवाज र २१ वर्षीय रहमद मियाँ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ परेका भरिया हुन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट मटेरुवा बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुन राख्ने खाली बट्टा ठुलो १६२ पिस, सुन राख्ने खाली बट्टा सानो ८१० पिस बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
बरामद गरेको सुन राख्ने डब्बा विराटनगरका सुन पसलले मगाएका हुन् । यहाँका सुन पसलले क्यारिङमार्फत भन्सार छली गरी सुन राख्ने डब्बा पनि अवैध रुपमा ल्याउने गरेको खुलेको छ ।
त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद गरेको छ ।
भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको डीएसपी कार्कीले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको अलगअलग टोलीले अवैध सामान बरामद गरेको हो ।
बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। सामान र पक्राउ परेकाहरुलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।