विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो भएको छनोट खेल अन्र्तगत फुटबल खेल्दा घाइते भएका खेलाडी बेवारिसे झै विराटनगरको अस्पतालमा भौतारिन पुगेका हुन् । चर्को घामसंगै दिउँसो २ बजे खेलिएको संखुवासभा र ओखलढुंगाबीच खेलमा घाइते भएका संखुवासभा जिल्लाका दुई खेलाडी राति विराटनगरका विभिन्न अस्पतालमा उपचारका लागि भौतारिएका हुन् । खेलका क्रममा चोट लागेपछि उनीहरुलाई अस्पताल लैजानुपरेको संखुवासभाको टोलीका टोली ब्यवस्थापक राज श्रेष्ठले बताए ।
ओखलढुंगालाई २ का विरुद्ध ३ गोलले पराजित गरेपनि दुई खेलाडी घाइते हुदाँ टोलीको फिक्का बन्न पुगेको थियो । संखुवासभा कुन्तांगका २१ वर्षीय जीवन मगर पहिलो हाफमा बाइसाइकल किक प्रहार गर्ने क्रममा घाइते भएका थिए । यद्धपी, प्राथमिक उपचारपछि उनी पहिलो हाफसम्म गर्मीमा खेलिरहे । संखुवासभाका प्रशिक्षक दीपक चौहान घाइते खेलाडी मगरको बडि ल्यांग्वेजबाट खुशी देखिएनन् । उनले मगरसंग कुरा गर्दै गर्दा, मगरले छिनछिनमा कुरा विर्सदै संझदै गरेको अनुभव सुनाए ।
घाँटीको पछिल्लो भागमा चोट लागेको हुनसक्ने अनुमान गरेका प्रशिक्षक चौहान र टोली ब्यवस्थापक श्रेष्ठले आयोजक प्रदेश १ खेलकुद विकास बोर्डका पदाधिकारी, जिम्मेवारलाई खोजे । तर उनीहरुले मैदानमा आयोजकतर्फबाट कोही नभेटेपछि घाइते भएका खेलाडीलाई विराट नर्सिंग अस्पताल उपचारका लागि पुराए । त्यस समयसम्म घाइते खेलाडी मगर घरि कुरा गर्दै विर्सने र घरि सम्झंने गर्दै गरेको अवस्थामा रहेको ब्यवस्थापक श्रेष्ठले बताए । उनले भने, ‘विराट नर्सिंग अस्पतालमा हामी उपचारका लागि सिटी स्क्यान गर्ने क्रममा थियौ । तर एकाएक साथीहरुले अर्का खेलाडी सुनिल गजमेरपनि टोलाउन थालेको भन्दै अत्तालिएर खबर गरे ।
विराटनगरमा खेल्न आएको हामी, धेरै कुरा थाहा छैन । आयोजक पक्ष पनि कोही नभेटिदाँ समस्या भयो । अत्याधिक गर्मीको अवस्थामा खेल्दा हामीलाई समस्या भयो ।’
‘संखुवासभाबाट आएदेखि खेल्न थालिएको छ । विश्राम भन्ने कुरा कतै छैन । त्यसमाथि गर्मीले डिहाइड्रेसनको समस्या । कसरी ब्यवस्थापन गर्नु टोली । समस्या भएको छ ।,’ प्रशिक्षक चौहानले बताए ।
विराटमा सिटी स्क्यान नगरि अर्का खेलाडीको अवस्था बुझन् प्रशिक्षक चौहान र श्रेष्ठ टोली भएको स्थानमा फर्किए । टोलीको बसाई इटहरी भएपनि खेलाडीको अवस्थाले उनीहरु विराटनगरका अस्पतालमा बेलुकासम्म दौडि रहे। ‘एकाएक टोलाउन थालेका गजमेरलाई कोशी अस्पतालमा उपचारका लागि पुराउँदा अस्पताल भरिएको अवस्थामा रहेको थियो,’ प्रशिक्षक चौहानले भने । कोशी अस्पतालमा उपचार गर्न संभव नभएपछि उनीहरुले गजमेरलाई नजिकैको गोल्डेन अस्पतालमा उपचारका लागि पुराए । जहाँ गजमेरको सामान्य उपचार गरियो ।
यसक्रमसम्म दुवै खेलाडी घरि विर्सने घरि संझने अवस्थामा थिए । घाइते गजमेरले भने, ‘मलाई नै थाहा छैन म कसरी यहाँ(अस्पताल) आइपुगे । म त मैदानमा थिए । होस आउँदा जस्तो हुदाँ अस्पतालमा आएको छु । खेल, मैदानदेखि अस्पताल भर्नासम्म के के भयो मैले केही थाहा पाउन सकिन् ।’
टोली ब्यवस्थापक श्रेष्ठले भने, ‘यसबारे हामीले भनिरहदाँ केही सुनुवाई भएन । आज साथीहरु घाइते भएकाछन् । यस्तो खेलमा सहभागिता भइन्छ भन्ने सोचपनि थिएनौं । धेरै लापार्वाहि र गैह्रजिम्मेवारीपन देखिएको छ ।’
प्रदेश खेलकुद विकास बोर्डले फुटबल खेलाडीलाई प्रतिदिन १ हजार ६ सय रुपैया उपलब्ध गराएको छ । जसबाट खानेबस्ने ब्यवस्था खेलाडीले नै गर्नुपर्ने बोर्डले जनाएको छ । सोही अनुसार छनोट खेल्न आएका अधिकांश टोलीले इटहरीलाई बासस्थान बनाएका छन् । चोटिल खेलाडी साथ भएको संखुवासभाको टोलीसमेत बेलुका घाइते खेलाडीलाई लिएर न्यास्रिदै इटहरी लागेका थिए ।
घटनाबारे जानकारी लिन प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई सम्पर्क गर्दा फोन रिसिझ हुनसकेन् ।
तपाईको प्रतिक्रिया