AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरको आफ्नै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ जेष्ठ २०७९, मंगलवार १६:४३
15.93k
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको महानगरकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

विराटनगर वडा नम्बर ११ को जनपथ टोलमा सञ्चालनमा ल्याइएको सेवा केन्द्रबाट आयुर्वेदसम्बन्धी सम्पूर्ण उपचार हुनेछ । औषधिसहित सबै सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । महानगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर हाल एउटा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि आगामी दिनमा सबै वडामा सेवा विस्तार गर्ने महानगरकी कार्यबाहक प्रमुख कार्कीले बताइन् ।

उपमेयर कार्कीले सम्पूर्ण महानगरलाई प्रतिनिधित्व हुनेगरी विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । “सबै महानगरवासीको सेवाका लागि अहिलेलाई विराटनगर–११ मा आयुर्वेद स्वास्थ्य सेवा केन्द्र स्थापना गरिए पनि आगामी दिनमा अन्य वडामा पनि विस्तार गर्ने योजना छ,” कार्कीले भनिन्, “आयुर्वेदका विषयमा आमनागरिकलाई जानकारी गराउनुपर्ने पनि देखिन्छ ।”

कार्यक्रममा महानगरका प्रशासकीय अधिकृत उमेश बस्नेतले सेवा केन्द्रबाट महानगरवासीले बढीभन्दा बढी लाभ प्राप्त गर्ने बताए । उनले आगामी दिनमा महानगरका १९ वटै वडामा आयुर्वेद सेवा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । “यो आयुर्वेद स्वास्थ्य केन्द्र उत्तरतर्फ लाने तयारी भएको थियो, मैले नै दिइन् । लाने भए कार्यपालिकाबाट निर्णय गर्नुपर्छ भन्ने अडान राखेका कारण यहाँ स्थापना भएको हो,” बस्नेतले भने, “यसका लागि वडाध्यक्षले पनि तर्कसंगत आफ्ना विचार राख्नुभयो ।” विराटनगरको उत्तरी र दक्षिणी क्षेत्रलाई समेटेर मध्यभागमा आयुर्वेद केन्द्र स्थापना गरिएको उनले प्रस्ट्याए ।

आधुनिक चिकित्साका साथै आयुर्वेद चिकित्सालाई पनि सँगै लानुपर्नेमा अन्य वक्ताहरूले जोड दिए । वडाध्यक्ष तीथेन्द्र न्यौपानेले आयुर्वेद केन्द्रको प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताए । उनले सञ्चालनमा ल्याइएको आयुर्वेद केन्द्र सफल भए अन्य वडामा पनि विस्तार गर्न सकिने उल्लेख गरे ।

हालको जनशक्ति र भौतिक संरचनाका आधारमा दैनिक २५ जनालाई सेवा दिन सकिने महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए । बिरामी जाँच, औषधि वितरणसँगै हाडजोर्नी दुखाइलगायतका समस्याको उपचारसमेत हुनेछ । त्यस्तै पञ्चकर्म र पूर्वकर्मको समेत सुविधा आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध हुने उनले बताए । उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत बस्नेत, वडाध्यक्ष न्यौपानेले क्रमशः पहिलो, दोस्रो र तेस्रो सेवा लिएका थिए । कार्यक्रममा स्वास्थ्य महाशाखाका सहसंयोजक राजेन्द्र कुइँकेल, जिल्ला आयुर्वेद केन्द्रका चिकित्सिक डा. निशान्त ढकाललगायतले आयुर्वेद चिकित्साका विषयमा आ–आफ्ना विचार राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर