खबर पूर्वाञ्चल
कलेजले एमबिबिएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुक्क मागेपछि विद्यार्थी सङ्गठन र एमबिबिएसका विद्यार्थीले कोशी राजमार्गको कन्चनबारी चोकमा चक्काजाम गरेका हुन् ।
नोबेल मेडिकल कलेजविरुद्धको विद्यार्थीको आन्दोलनमा अन्य राजनीति दलका विद्यार्थी नेता पनि सहभागी रहेका छन् । सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू आन्दोलनरत छन् ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको थियो । ती विद्यार्थी कक्षा प्रवेशका लागि आन्दोलनरत छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनहरूले बुधबार नोबेलमा तालाबन्दी गरेका थिए ।
पुस ११ गतेबाट कक्षा सुरु गरेको कलेजले अतिरिक्त शुल्क बुझाएपछि मात्रै कक्षामा छिर्न पाउने व्यवस्था गरेको छ । नोबेलमा एमबिबिएसमा एक सय सिट तोकिएको छ । तीमध्ये ८१ जना चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कमा अध्ययन गर्ने विद्यार्थी रहेका छन् ।
आयोगको कोटाबाट अध्ययन गर्ने विद्यार्थीसँग कलेजले बढी रकम मागेको हो । अतिरिक्त शुल्क बुझाएका नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जनालाई छुट्टै कक्षाकोठामा राखेर पढाइरहेको कलेज प्रशासन स्रोतले बताएको छ ।
आयोगले एमबिबिएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । जसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् ।