खबर पूर्वाञ्चल
चौकीदार गुरूङसहित पाँच जनालाई झुम्का कारागार र ९ जनालाई झापा कारागार स्तान्तरण गरिएको निमित्त जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
झुम्का कारागार स्तान्तरण हुनेहरूमा शेखर राई, सुर्यदिप गुप्ता, निर्मल ढकाल र पदमकुमार लिम्बु रहेका छन् । यस्तै झापा कारागारमा नाइके र भाई नाइकेहरू एलएक्स नेपाली, रामबहादुर लिम्बु, रोशन दाहाल, डिल्ली देवान, कपिलकुमार साह, विशाल तामाङ्ग, रमेश मण्डल, मुस्कान भन्ने बबिहाङ राई र राजु राईलाई स्थान्तरण गरिएको जेलर पोखरेलले जानकारी दिए । गुरूङको स्थान्तरण भएपछि मोरङ कारागारको चौकीदारको जिम्मेवारी तत्कालको लागि कार्तिक कामतलाई दिएको छ । कामत ज्यान मार्ने उद्योगमा जेल परेका हुन् । उनी मोरङ कारागारमा १७ वर्षदेखि रहदै आएका छन् ।
चौकीदार गुरूङको निर्देशनमा नाइके र भाई नाइकेहरूले कैदीबन्दीहरुलाई यातना दिएको आरोपमा दुई पक्षबीच विहान १० बजेतिर झडप भएको थियो । झडपमा परि चौकीदार गुरूङसहित ६ जना कैदीबन्दी घाइते भएका छन् ।
झडपमा परेर चौकीदार गुरुङसहित अरु कैदीबन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएका थिए । घाइते भएकाहरूको हात, टाउँको र नाकमा चोटपटक लागेको थियो । कोशीमा उपचार भएपछि उनीहरूसहित १४ जनालाई स्थान्तरण गरिएको जेलर पोखरेलले जानकारी दिए । ‘१४ जना कैदीबन्दीहरूको स्थान्तरणको लागि चिठी तयार हुदैछ । आज साँझसम्ममा स्थान्तरण भएको कारागारमा लैजानी तयारी गरिएको छ,’ उनले भने ।
‘चौकीदार गुरुङले कारागारभित्र मनोमानी गर्ने र कैदीबन्दीलाई चरम यातना दिने गरेको भन्दै उनको समूहसँग अरु कैदीबन्दी रुष्ट बनेका थिए,’ स्रोतले भन्यो, ‘त्यही विषयमा बढेको विवादका कारण दोहोरो झडप हुँदा कारागारको अवस्था निक्कै बेर तनावपूर्ण बन्यो ।’ स्रोतका अनुसार विवाद बढ्दै गएपछि चौकीदारको समूहविरुद्ध अर्को समूह जाइलागेको हो । निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको बताए । उनका अनुसार चौकीदारको समूहविरुद्ध अरु कैदीबन्दी आन्दोलितसमेत भएका छन् ।
चौकीदार गुरुङको निर्देशनमा कारागारका नाइके र भाई नाइकेहरुले कुटपिट गर्ने तथा यातना दिने एवं अत्याचार गर्ने गरेको भन्दै अरु कैदीबन्दी आन्दोलित बनेपछि झडपको अवस्था उत्पन्न भएको कारागार प्रशासनले जनाएको छ ।
आन्दोलित बनेका कैदीबन्दीले गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा केही बेर थुनेरसमेत राखिदिएका थिए । कारागार भित्र चौकीदारले नाइके र भाई नाइके चयन गर्दछन् । १० जना कैदीबन्दी बरामर एक जना भाई नाकाइे हुन्छ । २० देखि २५ जना कैदी बन्दी बराबर नाइके बन्ने कानुनी व्यवस्था रहेको छ ।
कारागार भित्र नाइके र भाई नाइकेहरूले चौकीदारको निर्देशन अनुसार कैदीबन्दीहरू आफ्नो पकटमा राख्ने गर्दछन् । मोरङ कारागारमा ८ सय ९७ जना पुरुष कैदीबन्दी रहेका छन् । जसमा ७२ महिला रहेका छन् ।