पूर्वाञ्चल खबर
सामाजिक विकास मन्त्री कृष्ण खनालसहित १२ जना प्रदेश सभा सदस्यले आज नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी रोजेर निर्वाचन कार्यालयमा सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । यो सँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।
प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भई सनाखत गर्नेमा सामाजिक विकास मन्त्री खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठ रहेको सांसद लक्ष्मण लम्सालले जानकारी दिए।
१०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए । त्यसैले भदौ २ गते तत्कालिन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ ।