पूर्वाञ्चल खबर
युरोकपमा एक खेलमा भएको यो दोस्रो धेरै गोल हो । यसअघि सन् १९६० को पहिलो संस्करणको पहिलो खेलमै फ्रान्स र युगोस्लाभियाबीचको खेलमा ९ गोल भएको थियो ।
थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुई गोल गर्दै स्पेन युरो २०२० को अन्तिम आठमा प्रवेश गरेको हो । सोमबार राति सकिएको खेलमा स्पेनले क्रोएसियालाई ५–३ गोलले पराजित छ ।
निर्धारित समयमा ३–३ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले गोल गरेका थिए ।
मोराटाले खेलको १०० र ओयर्जाबाजले १०३ मिनेटमा गोल गर्दा स्पेन विजयी भएको हो ।
रोमाञ्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो साराबिया, सेजार एज्प्लिकुएटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओजाबायाले १–१ गोल गरे । क्रोएसियाका लागि मिस्लास ओरिसिच र मारियो मासालिचले १–१ गोल गरे । स्पेनले एक गोल उपहार दिएको थियो ।
स्पेन सन् २०१२ पछि पहिलो पटक युरोकपमा क्वाटरफाइनलमा पुगेको हो । सन् २००८ र २०१२ मा लगातार युरो उपाधि जितेको स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो भने २०१६ को युरो र २०१८ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो ।
डेनमार्कको कोपनहेगनस्थित पार्केन स्टेडियममा भएको खेलमा क्रोएसियाले आत्मघाती गोल मद्दतमा पहिले अग्रता लिएको थियो ।
२०औं मिनेटमा स्पेनका पेड्रीले आत्मघाती गोल गरेपछि क्रोएसियाले अग्रता बनाएको थियो । तर उक्त अग्रता लामो समय टिकेन । ३८ औं मिनेटमा पाब्लो साराबियाले जोस गयाको पासमा गोल गर्दै खेल बराबरी गरे ।
पहिलो हाफ १–१ को बराबरी भएपनि दोस्रो हाफमा ६ गोल भयो । ५७ औं मिनेटमा फेरान टोरेसको पासमा सेजार अज्प्लिकुएटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाए ।
७७ औं मिनेटमा फेरान टोरेसले पाउ टोरेसको पासमा गोल गरेपछि स्पेनले ३–१ को अग्रता बनाउँदै जित नजिक पुगेको थियो । तर क्रोएसियाले निर्धारित सममयै कमब्याक र्गयो । ८४ औं मिनेटमा मिस्लास ओरिसिचले गोल गर्दै गोल अन्तर कम पारे ।
इन्जुरी टाइममा मारियो मासालिचले ओर्सिचकै पासमा गोल गरेपछि क्रोएसियाले निर्धारित समयमा खेल ३–३ को बराबरीमा पुर्यायो ।
क्रोएसियाका लागि पछिल्लो दुई गोल गर्ने खेलाडी वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । ओरिसिस ६७ औं मिनेटमा एन्टे रेबिक र पासालिच ७९औं मिनेटमा निकोला भ्लासिकको स्थानमा मैदान प्रवेश गरेका थिए ।
त्यसपछि ३० मिनेटको अतिरिक्त समय थप भयो । अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।
१००औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई ४–३ को अग्रता दिलाए । त्यसको चार मिनेटपछि नै वैकल्पिक खेलाडी मिकेल ओयाजाबाले गोल गर्दै स्पेनलाई ५–३ को अग्रता दिलाए । दुवै गोलका लागि अर्का वैकल्पिक खेलाडी डानी ओल्मोले सहयोग गरेका थिए ।