पूर्वाञ्चल खबर
क्षमताभन्दा चार गुणा बढी बालक रहेको सुधार गृहमा कोरोना सङ्क्रमण फैलिएको हो । ५० जना क्षमता भएको सुधार गृहमा एक सय ९३ जना बालक छन् । ५० जनाको पिसिआर परीक्षण गर्दा २५ जना बालकमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गत जेठ २ गते पहिलो पटक एक बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि लक्षण देखिएका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जेठ १३ गते कन्ट्याक्ट ट्रेसिङमा परेका ५० जनाको पिसिआर गर्दा २२ जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ । २२ जनाको रिपोर्ट पोजेटिभ आएयता अन्य बालकको पिसिआर परीक्षण भएको छैन ।
सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको स्रोतले जनाएको छ । जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते आउँदा २२ जनामा कोरोना देखिएको भएपनि अन्य बालकको परीक्षण अझै भएको छैन ।
सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार सङ्क्रमण पुष्टि भएका बालकहरूलाई छुट्टै स्थानमा राखिएको छ । जेठ १३ गते स्वाब सङ्कलन गरिएका बालकको रिपोर्ट ढिलो आएकोले अन्य बालकको परीक्षणमा ढिलाई भएको उनको दावी छ ।
सङ्क्रमण पुष्टि भएका बालकहरूमा कुनै लक्षण भने नदेखिएको उनले बताए । पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखिएको छ ।
सुधारगृहको एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएकोले उनीहरुमा कोरोना फैलिएको हो । सुधारगृहमा १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि राखिन्छ । सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।
पोजेटिभ देखिएका बालकलाई महानगरपालिकाको आइसोलेसनमा राखेका छौं,’ प्रमुख चौहानले भने, ‘सुधार गृहमा रहेका बालकहरूमा लक्षण देखिएको छैन ।’